काठमाडौँ(जस)–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रको सुधारका लागि ‘बोल्ड’ निर्णय गर्दै तीन महत्वपूर्ण निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमै सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै मन्त्री पुनले नेपालका सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्म देखिएका संरचनागत समस्या र ढिलासुस्ती अन्त्य गर्न तत्काल लागू हुनेगरी ठोस कदम अघि सारेका हुन् ।
मन्त्री पुनको पहिलो निर्देशन सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने सम्बन्धमा छ । उनले हालसम्म केही विद्यालयमा मात्रै कम्प्युटर शिक्षा ऐच्छिक विषयका रूपमा सीमित रहेको भन्दै सबै माध्यमिक विद्यालयमा अनिवार्य दरबन्दीमा एक जना कम्प्युटर शिक्षक थप्नुपर्ने आदेश दिएका छन् । “अबको जमानामा कम्प्युटर साक्षरता नभए निरक्षर सरह हुन्छ,” मन्त्री पुनले भने, “विद्यार्थीलाई कम्प्युटर वैज्ञानिक बनाउन होइन, कम्तीमा प्रविधिमा साक्षर बनाउन यो व्यवस्था गर्न लागिएको हो ।”
उनको दोस्रो निर्देशन विश्वविद्यालयतर्फ केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयसहित कतिपय विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल प्रकाशन गर्न आठ महिनादेखि एक वर्षसम्म लिने गरेको भन्दै मन्त्री पुनले यस्तो ढिलासुस्तीलाई ‘विद्यार्थीको भविष्यसँगको खेलवाड’ भनेका छन् । अबदेखि विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्नुपर्नेछ । समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन् । “१२ कक्षाको ५ लाख विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले तीन महिनामै निकाल्छ, विश्वविद्यालयले किन सक्दैन ?” मन्त्री पुनले प्रश्न उठाए ।
तेस्रो निर्देशन भने त्रिभुवन विश्वविद्यालय परिसरको भौतिक वातावरण सुधारबारे हो । किर्तिपुरस्थित विशाल क्षेत्रफलमा फैलिएका झाडी सफा गरेर सुन्दर बगैँचा र फुटपाथ बनाउन उनले निर्देशन दिएका छन् । “ठूलो रुख काट्नु हुँदैन, तर बनमारा र झाडी हटाएर विश्वविद्यालयलाई आकर्षक बनाउनु पर्छ,” मन्त्री पुनले भने, “विद्यार्थीले त्यहाँ गएर पढ्दा मन शान्त हुने, वातावरण सुहावना हुने गरी संरचना बनाउनुपर्छ ।” सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पुनले मन्त्रालयमै बस्ने आफ्नो निर्णयबारे पनि स्पष्ट पारे । उनले मन्त्री भएपछि आफू ठूलो भएको अनुभूति नभएको बताउँदै समय बचतका लागि मन्त्रालयमै बस्न रोजेको बताए । “यहाँ बसेर म चाहिँ अब ठुलो मान्छे भएँ भन्ने होइन,” उनले भने, “कतै डेरा गएर सुरक्षा व्यवस्था मिलाउनुभन्दा मन्त्रालयमै बस्दा समय बचत हुन्छ र काममा केन्द्रीकृत हुन सजिलो हुन्छ ।”
मन्त्री पुनले आफू कुनै पनि काम सुरु गरेपछि पुरा नभएसम्म नछाड्ने बानी रहेको उल्लेख गर्दै मन्त्रालयमा आएको छोटो समयमै परिणाममुखी काम गर्नुपर्ने बताए । “अब जम्मा चार महिना मात्रै प्रभावकारी रूपमा काम गर्ने समय छ । चुनाव नजिकिँदै जाँदा सरकारी काम प्रभावित हुन्छ,” मन्त्री पुनले भने, “त्यसैले समय खेर फालेर उद्घाटन र औपचारिक कार्यक्रममा मात्र घुम्ने हैसियत छैन । काम गरेरै देखाउनुपर्छ ।” मन्त्री पुनले मन्त्रालयका कर्मचारीसँग सहयोगी सम्बन्ध रहेको भन्दै आफू कुनै पनि समयमा काम गर्न तयार हुने बताए । “मन्त्रीको काम घडी हेरेर गर्ने होइन, कुनै पनि समयमा गर्न सक्ने हो,” उनले भने, “त्यसैले म एनी टाइम उपलब्ध छु ।” उनले विभिन्न क्षेत्रका विज्ञ र साथीहरूलाई सल्लाहका लागि भेट्ने र छलफल गर्ने अभ्यास अघि बढाएको समेत जानकारी दिए ।
शिक्षा क्षेत्रमा लामो समयदेखि देखिएको ढिलासुस्ती, अनावश्यक औपचारिकता र परिणाममुखी कामको कमीलाई सम्बोधन गर्न मन्त्री पुनको निर्देशनलाई ‘बोल्ड निर्णय’का रूपमा लिइएको छ । विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरेर प्रविधि पहुँचमा सबैलाई समेट्ने, विश्वविद्यालयलाई नतिजा छिटो निकाल्न बाध्य पार्ने र विश्वविद्यालयलाई शैक्षिक मात्र नभई भौतिक रूपमा पनि आकर्षक बनाउन खोज्नु हालसम्मका मन्त्रीहरूको सामान्य घोषणाभन्दा भिन्न देखिएको छ । उनको कार्यशैली मन्त्रालयमै बसेर समय बचत गर्ने, कर्मचारीलाई समयमा ब्रिफिङ लिन लगाउने र छोटो अवधिमा ठोस परिणाम देखाउनेले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ । मन्त्री पुनले भनेका छन्, “म कुनै पनि काम रिल्याक्स भएर, फुर्सदमा गरेर बस्ने होइन । छोटो समयमा परिणाम निकाल्ने मेरो प्राथमिकता हो ।”