शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनएको विवाद समाधान र एकताका लागि गौरी राज जोशी पद त्याग्न तयार,एकताको बिकल्प नभएको दावी

आइतबार, असोज ५ २०८२

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का महासचिव गौरीराज जोशीले संगठनभित्र देखिएका विवाद र विभाजन अन्त्य गर्दै एकता कायम गर्न आवश्यक परे आफू पद त्याग गर्न समेत तयार रहेको घोषणा गरेका छन्।

आइतबार जारी ध्यानाकर्षण वक्तव्यमा उनले नेपाल नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै अहिले देशले सुशासन, छिटो आर्थिक विकास र पारदर्शिता खोजिरहेको स्पष्ट पारे। उनका अनुसार यो अवसरलाई चुनौती नभई सम्भावना र अवसरको रूपमा लिनुपर्छ।

जोशीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा देखिएको विभाजन अन्त्य गर्न विद्यमान दुवै समिति खारेज गरी संस्थापक व्यक्तित्वहरू उपेन्द्र महतो,जिवा लामिछाने, रामप्रताप थापा, भीम उदासलगायतलाई समेटेर अस्थायी समिति गठन गर्ने प्रस्ताव समेत राखेका छन्। सो समितिलाई नयाँ नेतृत्व छान्ने, विवादित एनसीसीहरूमा सदस्यता खुला गरी पुनः निर्वाचन गर्ने र विधान संशोधनमार्फत संगठनलाई थप पारदर्शी बनाउन सक्ने जिम्मेवारी दिन सकिने उनको सुझाव छ।

संगठनको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल किनारा लाग्ने अवस्था नरहेको स्मरण गर्दै उनले सहमति बनाएर सबै समुहले ती मुद्दा फिर्ता लिनुपर्ने धारणा राखे। आवश्यक परे पद त्याग गरेरै पनि एकता कायम गर्न तयार रहेको उनले स्पष्ट पारे।

जोशीले विधान संशोधनमार्फत तेस्रो पक्षलाई एमआईएस प्रणालीको अनुगमन गर्ने अधिकार दिनुपर्ने र विदेशमा रहेका बढीभन्दा बढी नेपालीलाई सहभागी गराएर निर्वाचन प्रक्रिया पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

नेपाललाई आर्थिक रूपमा सबल बनाउन वैदेशिक लगानी अपरिहार्य रहेको औंल्याउँदै उनले विदेशमा रहेका नेपालीलाई फुटेर होइन, जुटेर अघि बढ्न आग्रह गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार