वासिङ्टन । करिब दुई सय जनाले १४ दिनको अवधिमा फिलाडेल्फियाबाट सुरु गरेको लोकतन्त्रको समर्थनमा गरिएको एक सय ६० माइल लामो पदयात्रा शुक्रबार वासिङ्टन डिसीमा सम्पन्न भएको छ ।
बालबालिकादेखि वृद्धसम्म सहभागी ‘वि आर अमेरिका’ का सदस्यहरू राजधानीमा आइपुग्दा समर्थक र काङ्ग्रेस सदस्यहरूले आलिङ्गन र जयजयकारसहित स्वागत गरे । उनीहरू थकित भए पनि उत्साहित देखिन्थे ।
पदयात्राको उद्देश्य सरकारी निकायहरूमा हुने सामूहिक गोलीबारी, डिस्ट्रिक्ट अफ कोलम्बियाको कानून प्रवर्तनमाथि सङ्घीय नियन्त्रण र ट्रम्प प्रशासनसहित नेताहरूका विवादास्पद गतिविधिबारे जवाफदेही बनाउन सशक्त आन्दोलन निर्माण गर्नु थियो ।
फिलाडेल्फियाबाट सुरु भएको यात्रा नेवार्क, विल्मिङ्टन र बाल्टिमोर हुँदै वासिङ्टन पुगेको हो । बाटोमा सहभागीहरूलाई चर्च र स्थानीय घरहरूमा बस्ने व्यवस्था मिलाइएको थियो । एक रात भने सहभागीहरू बाहिरै शिविर लगाएर बास बसेका थिए ।
संस्थापक म्यागी बोहाराले यात्राका क्रममा भेटिएका समुदायहरूले दिएको सहयोगबारे भन्नुभयो, “हामी जुन कुरामा विश्वास गर्छौं, त्यसमा अरू पनि हामीसँग छन्, हामी एक्ला छैनौँ भन्ने यसले देखाउँछ ।”
असी वर्षीया डायने शॉ–कमिन्स आफ्ना छोरा टेड रेग्नडसँगै पदयात्रामा सहभागी हुनुभयो । उहाँले भन्नुभयो, “म मेरा नातिनातिनाहरू, मेरा बच्चाहरू र अमेरिकामा बस्ने सबैका लागि अझ राम्रो चाहन्छु ।”
पदयात्रामा सहभागीहरूलाई सम्बोधन गर्दै टेक्सासका प्रतिनिधि अल ग्रीनले यस पदयात्रालाई सन् १९६५ को ‘ब्लडी सन्डे’ मार्चसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूले एक सय ६० माइल पदयात्रा गर्नुभयो र आज वासिङ्टन, डिसीमा एडमन्ड पेटस ब्रिजको क्षण पुनः जिवन्त बनाउनुभयो ।”
पदयात्रामा सहभागीहरूले बालबालिकाले तयार पारेको अमेरिकी संविधानको प्रतिलिपि बोकेका थिए, जुन उनीहरूले वासिङ्टनमा आइपुगेर सिनेटर क्रिस भ्यान होलेनलाई उपहार दिए ।
संस्थापक एमजे ट्युनका अनुसार संविधान बोकेर निर्वाचित प्रतिनिधिहरूलाई विदेशी वा घरेलु दुश्मनबाट देशलाई रक्षा गर्ने शपथ सम्झाउनु नै उद्देश्य थियो । उहाँले भन्नुभयो, “हामीले यो पदयात्रामार्फत समुदायको भावना जगाउने कोसिस गरेका हौँ । अहिंसात्मक दीर्घकालीन आन्दोलन टिकाउन समुदाय अत्यावश्यक छ, यही हाम्रो अन्तिम लक्ष्य हो ।”