आज दसौँ संविधान दिवस देशभर मनाइँदै छ । नेपालमा २०७२ सालमा इतिहासमैं पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट असोज ३ गते वर्तमान संविधान जारी भएको हो । यो संविधान नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिन थियो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने एक ऐतिहासिक दिन हो । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन् । नेपालमा पहिलोपटक २००४ साल माघ १३ गते ‘नेपाल सरकारको वैधानिक कानुन’ तत्कालीन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेरले जारी गरेका थिए । तर, यो लागू हुन सकेन । यसका हिसावले भन्ने हो भने वर्तमान संविधान नेपालको सातौँ संविधान हो । यस संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
यो संविधान पनि संशोधन गर्नुपर्ने भन्दै बिभिन्न राजनीतिक, तथा सामाजिक समूहका व्यक्तिहरुले आवाज उठाइरहेको भएतापनि संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच एकमत नहुँदा संविधान संशोधनको माग सम्बोधन हुन सकेको छैन । संविधान जारी गरिएको यो विशेष दिनमा जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवं विभिन्न कालखण्डमा भएका सङ्घर्षमा जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग एवं बेपत्ता पारिएका योद्धाहरूलाई उच्च सम्मान व्यक्त गर्नुपर्छ । उनीहरूकै योगदानका कारण यो संविधान निर्माण भएको हो भन्न कुनै हिचकिचाहट मान्नु हुँदैन ।
संविधानअनुसार नै अहिले देश समाजवादउन्मुख दिशामा अग्रसर छ । देशमा सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्राणालीहरू लागू भएका छन् । सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार निर्माण भएका छन् । रोजगार, नियुक्ति र जनप्रतिनिधि छनोटका क्षेत्रमा महिला, दलित, जनजाति, मधेसी, पछिडिएको क्षेत्र, अपाङ्गता आदिमा कोटा छुट्याइएको छ ।
तर यी समावेशी तथा समानुपातिक कोटामा दलहरुकै हालिमुहाली छ । संविधान र कानुनका छित्रहरुबाट राम्रो भन्दा पनि आफ्नो, र मेरो मान्छे छिराउने कार्य भएको छ । संविधानले तीन तहको सरकारको व्यवस्था गरेको भएतापनि अझै पनि स्थानीय तह र प्रदेश तहमा अधिकारहरु प्रत्यायोजन हुन सकेको छैन । भ्रष्टाचार, बेथिती, बिसंगती झन मौलाएको छ । कतिपय राजनीतिक दल र स्थानीय जनताले कतिपय विद्यमान कानुहरु परिमार्जन गरेर कडा खालका दण्ड सजाय भएको व्यवस्था संविधानमा उल्लेख गर्नुपर्ने माग गरिरहेका छन् । यसका लागि पनि संसदका बिभिन्न समितिहरुमा बेला बेलामा छलफल भएतापनि त्यसले मूर्त रुप लिन सकेको छैन ।
अतः संविधान दिवस मनाउनुको तात्पर्य हरेक वर्ष नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका राज्यका उच्च ओहदामा रहेकाहरु गएर एक–दुई जोडी शान्तिका प्रतिक परेवा उडाउनु, भाषण गर्नु र सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि गर्नुमात्र होइन । संविधानमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जनमुखी बनाउनु र सबै वर्ग क्षेत्र, लिंग समूदायका जनताका अधिकार सुनिष्चित गर्नु नैं संविधान दिवस मनाउनुको मूल तात्पर्य हो ।