खगेन्द्र छन्त्याल
कम्युनिस्ट पार्टीको काम समाजवाद हुँदै साम्यवाद निर्माण गर्नु हो । त्यसकानिम्ति विशाल र सशक्त सङ्गठन चाहिन्छ । त्यति मात्र भएर पुग्दैन, सिद्धान्तमा दृढ, विचारमा प्रस्ट र व्यवहारमा इमानदार हजारौँ, लाखौँ नेता, कार्यकर्ताहरू र सुयोग्य, सक्षम र परिपक्वमुख्य नेतृत्व चाहिन्छ । मुख्य नेतृत्व कसैको चाहनाले हुने कुरा होइन, त्यो त पार्टी र क्रान्तिको आवश्यकतामा क्रान्तिकै भट्टीबाट पैदा हुने चीज हो । क्रान्तिको निम्ति आफ्नो व्यक्तिगत जीवन समर्पण गर्न लायक मुख्य नेतृत्व निर्माण गर्न पार्टीले कैयौँ मिहिनेत र बलिदान गर्दछ ।
त्यसरी निर्माण भएको मुख्य नेतृत्व व्यक्ति होइन, संस्था हुन्छ र ऊ प्राधिकार बन्छ । त्यसैले त्यो निरन्तर लक्ष्यप्राप्तिको निम्ति अगि बढिरहने चीज हो, रातारात फेरिने चीज होइन । नेपालको समाजवादी क्रान्ति, नेकपा (माओवादी केन्द्र) र उसको मुख्य नेतृत्व कमरेड प्रचण्डको हकमा पनि यही कुरा सत्य हो ।
२०५२ फागुन १ मा थालनी गरिएको महान् जनयुद्धदेखि आजसम्म करिब यो ३० वर्षको समयावधिमा नेपाली समाजमा चलेका राजनीतिक बहस र छलफलहरू, चाहे त्यो क्रान्तिको कुरा होस् वा प्रतिक्रान्तिको, चाहे विद्रोहको कुरा होस् वा शान्तिको, चाहे त्यो एकताको कुरा होस् वा फुटको, चाहे त्यो निर्माणको होस् वा ध्वंसको,चाहे त्यो सरकार गठनको कुरा होस् वा विघटनको, हरेक ठाउँमा अध्यक्ष कमरेड प्रचण्डको नाम अविच्छिन्न जोडिँदै आएको छ । नेपालका कुनै पनि राजनीतिक घटनाक्रम र एजेन्डाबारेका विचार विमर्शहरुमा समर्थन वा विरोध, नायकको रूपमा वा खलनायकको रूपमा प्रचण्डको नाम नलिइकन त्यो विचार विमर्श सार्थक नै नहुने स्थिति बन्दै आएको देखिन्छ । सायद त्यसैले होला, कैयौँ बुद्धिजीवी र राजनीतिक विश्लेषकहरू भन्ने गर्दछन्, “प्रचण्डको कुनै न कुनै भूमिकाबिना नेपालको राजनीतिमा पात पनि हल्लिँदैन ।”
नेपाली राजनीतिमा आफ्नो आवश्यकता र भूमिकाको जिम्मेवारीबोधकै कारण जेन्जी आन्दोलनभन्दा केहीदिन अघि अध्यक्ष कमरेड प्रचण्ड स्वयम्ले भन्नुभएको थियो,“मलाई चिन्ता लाग्छ, मैले छाडिहाल्ने हो भने कतै सबै गल्र्याम्मै ढल्ने त होइन?” उहाँको यो अभिव्यक्तिलाई केहीले हाँसी–मजाकको रूपमा लिए । यहाँसम्मकि एकाध आफ्नै सहकर्मीहरूले पनि कसैको पिठ्यूँमाथि चढेर वा आफ्नै मति बिग्रेर उहाँको खिसिट्युरी समेत गरे । तर, छिट्टै देखियो प्रचण्डलाई राज्यसत्ताको मूलधारबाट जबर्जस्त बाहिर धकेलेर भूमिकाविहीन बनाएर उनको हुर्मत लिइरहँदा सरकार गयो, संसद् गयो ।
त्यतिमात्र होइन, गणतन्त्र र संविधानमाथि नै प्रहार भयो, गम्भीर प्रश्न उठ्यो । अर्थात् जेन्जी आन्दोलनको मुख्य कारकतत्व मुलुकमा व्याप्त भ्रष्टाचार नै हो । प्रचण्ड नेतृत्वको पछिल्लो सरकार विघटनको खास कारण थियो, भ्रष्टाचार र भ्रष्टाचारीप्रति सरकारको शून्य सहनशीलता । त्यसैले सहजै भन्न सकिन्छ कि प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले केही समय निरन्तरता पाउन सकेको हुन्थ्योभने अवश्य पनि भ्रष्टाचार विरोधी अभियानमा गुणात्मक फड्को मार्ने निश्चित थियो । साथै, वर्तमान शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संसद्बाट होइन; विज्ञताको आधारमा मन्त्री र समानुपातिक निर्वाचन प्रणाली त माओवादीको एजेन्डा नै हो । जब यी कुरातिर यात्रा सुनिश्चित हुन्थ्यो, तब त्यसकै िनम्ति कुनैपनि प्रकारको आन्दोलनको आवश्यकता नै किन पथ्र्यो ?
जेन्जी आन्दोलनको राप र तापले भएको सरकार परिवर्तन र संसद् विघटनसँगै प्रचण्डका नाममा सधैँ भइरहने चर्चाले थप गतिका साथ निरन्तरता पाइरहेको छ । मान्छेहरू औपचारिक अन्तक्र्रिया, बहस र छलफलमा मात्र होइन, फोन वार्ता र चियागफदेखि यात्रामा हिंडेका यात्रीहरूले समेत राति नजिक पलङमा पल्टेर निन्द्रा फकाइरहँदा प्रचण्डको नाममा संवाद गरेको सुनिन्छन । उनीहरू भनिरहेका हुन्छन्– प्रचण्डले अब छोड्नुपर्दछ, प्रचण्डले छोड्नुहुँदैन !
प्रचण्डले अब छोड्नुपर्दछ भन्ने भनाइ पार्टीबाहिर र भित्रका विभिन्न कोणबाट आएको देखिन्छ ! तीमध्ये प्रथमतः माओवादीको लक्ष्य के हो ? उद्देश्य के हो ? गन्तव्य के हो ? यो कुरा नबुझ्ने, माओवादी पनि काङ्ग्रेस, एमाले जस्तै यही प्रतिक्रियावादी संसदीय व्यवस्थाको एउटा खेलाडी मात्र हो । यहाँदेखि अगि समाजवाद साम्यवादसम्म पुग्ने उसको कुनै लक्ष्य, योजना र सपना केही छैन भनेर बुझ्ने समूहको विचार । उनीहरू भन्छन्– आखिर माओवादी पनि यही पुँजीवादी व्यवस्था भित्रकै एउटा अर्को पुँजीवादी पार्टी हो । उसको काम पनि अरू बुर्जुवा पार्टीका प्रतिनिधिहरूले जस्तो केवल मन्त्री सांसद बन्ने, सुख सुविधाभोग गर्ने मात्र हो । त्यसकारण पार्टीको सत्ता र शक्तिमा रहने पात्रहरू अरू बुर्जुवा पार्टीहरूले झैँ आलोपालो र भागबन्डाको निम्ति उमेरहद वा समयावधिको कारण देखाई परिवर्तन गरिरहनुपर्दछ ।
द्वितीय, बितेका तीस वर्षदेखि देशी–विदेशी प्रतिक्रियावादी शक्ति र व्यक्तिहरूको निदहराम गर्नेकाम माओवादीले गरिरहेको छ । ती शक्ति र व्यक्तिहरू माओवादीको अन्त्य चाहन्छन् । उनीहरूलाई राम्रोसँग थाहा छ, अहिलेकै अवस्थामा प्रचण्डबिनाको माओवादी कल्पनासमेत गर्न सकिँदैन । त्यसकारण तिनीहरू भन्छन्– अब प्रचण्डको औचित्य सकियो । उनीहरू यस्तै कूतर्क गर्दै माओवादीमाथि मनोवैज्ञानिक आक्रमण गरेर माओवादी ध्वस्त पार्नका निम्ति नै प्रचण्डले छाड्नुपर्दछ भन्दैछन् !
तृतीय, केही मान्छे प्रचण्डप्रति चरम पूर्वाग्रह राख्दछन र उनीहरू प्रचण्डको प्रगतिमा जल्ने गर्दछन । उनीहरू प्रचण्ड कमजोर र शक्तिहीन भएको, निकम्मा र निस्क्रिय भएको हेर्न चाहन्छन् । प्रचण्ड यति बलियो र शक्तिशाली हुनु, यति सक्षम र सक्रिय हुनुको कारण माओवादी पार्टीको अध्यक्ष हुनुनै हो भन्ने निष्कर्षसहित उनीहरू जेन्जी पुस्ताको आन्दोलन सफलताको मौकामा चौका हान्दै उमेर र समयावधिको कूतर्क गर्दै प्रचण्डले ‘नेतृत्व छोड्ने सल्लाह’ दिँदैछन् !
चतुर्थ, केही मान्छेहरू पार्टीभित्रको आफ्नो असन्तुष्टिकै कारण अध्यक्ष कमरेड प्रचण्डको अवमूल्यन र अपमान गर्दै अब प्रचण्डले छोड्नुपर्दछ भनिरहेका छन् । स्वाभाविकै रूपले एउटा जिवन्त पार्टीमा कैयौँ विषयमा असन्तुष्टि, असहमति र अन्तर्विरोध हुने गर्दछन् । कम्युनिस्ट पार्टी र त्यसका सदस्यहरूले त्यसप्रकारको असन्तुष्टि, असहमति र अन्तर्विरोधलाई क्रान्तिकारी विधिद्वारा हल गर्नुपर्दछ । त्यसको विपरीत पार्टीभित्रको आफ्नो असन्तुष्टिलाई गलत ढङ्गले सार्वजनिक गर्नु, आफ्नो असन्तुष्टिकै कारण पार्टीको उन्नति र प्रगतिमा बाधक बन्नु, असन्तुष्टिकै कारण आफ्नो जिम्मेवारी बहन नगर्नु, असन्तुष्टिकै कारण पार्टीका सहकर्मीहरूसँग पानी बाराबारको स्थिति सिर्जना गर्नु, असन्तुष्टिकै कारण नेतृत्वको अपमान र अवमूल्यन गर्नु कदापि राम्रो होइन । प्रचण्डले छोडेपश्चात् प्रचण्डको ठाउँमा आउने मान्छे को हो ? उसको योजना के हो ? उसको क्षमता के हो ? पार्टीको भविष्य के हो ? क्रान्तिको भविष्य के हो ? कुनै जवाफ छैन र तर ति मान्छेको एउटै भनाइ छ– प्रचण्डले छोड्नुपर्यो !
प्रचण्डले छोड्नुपर्छ भनेर पार्टीभित्र आवाज उठेको चाहिँ यो पहिलो पटक होइन । करिब डेढ दसकदेखि कैयौँ पटक आवाजमात्र उठेन, धेरैले प्रचण्डलाई ‘सच्चिने कि छोड्ने’ भनेर प्रश्न पनि गरे । तर प्रचण्डले आफ्नो बाटो कहिल्यै मोडेनन्, आफ्नो गति कहिल्यै रोकेनन्, निरन्तर अगि बढिरहे । बरु ज–जसले ती प्रश्न गरे, तिनले नै अन्ततः प्रचण्डलाई छाडे । कालान्तरमा कैयौँले आफूलाई सच्चाए तर केहीले आफूलाई सच्चाउन आवश्यक ठानेनन् । जसले आफूलाई सच्चाउन आवश्यक ठानेनन्, आज तिनीहरू क्रान्ति, देश, जनता र समाजको निम्ति मसिहा होइन, बरु एउटा मजाकको पात्र बनिरहेका छन् । त्यसकारण तत्काललाई प्रचण्डबिनाको माओवादी पार्टी कस्तो होला भनेर हामीले कल्पना गर्नै पर्दैन, त्यो त हामीले देखेकै र भोगेकै कुरा हो ।
प्रचण्ड नेतृत्वको माओवादी पार्टी बुर्जुवा पार्टी होइन, त्यो त एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । प्रतिक्रियावादी पुँजीवादी राज्यसत्ताभित्रै संसदीय लाभहानीको हिसाब गरेर बसिरहने उसको काम होइन । उसको गन्तव्य समाजवाद, साम्यवाद हो । त्यो प्राप्तिको निम्ति विभिन्न अप्ठ्यारा बाटा र घुम्तीहरू छिचोल्दै निरन्तर अगि बढिरहन्छ ऊ । त्यसैले त्यो पार्टीको मुख्य नेतृत्व कुनै चानचुने व्यक्ति हुनसक्दैन । महान् लेनिन, स्टालिन जीवनको उतराद्र्धसम्म नै किन पार्टी नेतृत्वमा रहिरहे ? अध्यक्ष माओत्सेतुङले आफू अशक्त हुँदासम्म नै किन पार्टी नेतृत्व सम्हालिरहे ? के पदप्रतिको लालचकै कारण उहाँहरूले त्यसो गर्नुभएको हो ? अवश्य पनि त्यस्तो होइन ।
सोभियत र चिनियाँ क्रान्ति (समाजवाद) को रक्षा र साम्यवाद प्राप्तिको निम्ति सोभियत कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीलाई उहाँहरू जस्तो अनुभवी, सक्षम र सुयोग्य पात्रको नेतृत्व आवश्यकताको कारण त्यसो भएको हो । ठीक त्यस्तै, नेपालको माओवादी पार्टी र आन्दोलनको नेतृत्व अध्यक्ष कमरेड प्रचण्डले गरिरहनु भएको छ र निरन्तर गरिरहनु हुनेछ । तर, यसको कारण पद प्रतिको उहाँको लालच होइन । महान् जनयुद्धले प्राप्त गरेको उपलब्धिहरूको रक्षा गर्दै नेपाली धर्तीमा समाजवाद स्थापना गर्दै साम्यवादको निम्ति अगि बढ्न र माओवादी आन्दोलनलाई निरन्तर अगि बढाउनको लागि देश, जनता र पार्टीको आवश्यकता नै यसको मुख्यकारण हो ।
तसर्थ, अध्यक्ष कमरेड प्रचण्डमा निहित अपार अनुभव, विशेष क्षमता, बेजोड क्रियाशीलता, आवश्यक लचकता, आवश्यक दृढता, इमानदारिता, कुशलता र पार्टी, क्रान्ति अनि देश तथा जनताको निम्ति निरन्तर समर्पित भइरहने जुझारु इच्छाशक्तिको दृष्टिले हेर्दा तथा पार्टी, क्रान्ति एवम् देश र जनताको आवश्यकताको दृष्टिले हेर्दा आगामी करिब दस वर्षसम्म, चाहे त्यो पार्टीबाट होस् वा बाहिरबाट, कसैले पनि प्रचण्डको विकल्प नखोज्दा हुन्छ र त्यसबारे केही नसोच्दा पनि हुन्छ । किनकि “प्रचण्डको विकल्प केवल प्रचण्ड” नै हो, तत्काललाई प्रचण्डको विकल्प अरू कोही हुनै सक्दैन ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij