काठमाडौँ(जस)–विघटित प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टीभित्र विवाद चुलिँदै गएको छ । पार्टीका वरिष्ठ नेताहरूले अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पद छाड्नुपर्ने माग गरेका छन् । पार्टीको विश्वसनीयता र जनआस्थाको पुनःस्थापना गर्न नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले राउतको राजीनामा माग गरेका हुन् । वरिष्ठ उपाध्यक्ष खानसँगै प्रवक्ता शरदसिंह यादव, संयोजक संजयकुमार यादव, सीके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बमले पार्टी अध्यक्ष र संगठन विभाग प्रमुख डा. जयकान्त राउतको समेत राजीनामा माग गरेका हुन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतले २४ घण्टाभित्र आफ्नो पदबाट राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’ जनमत पार्टीमा विगतदेखि नै विवाद हुँदै आएको छ । सोही विवादका कारण केही पहिले नेताहरु निष्काशनमा समेत परेका थिए ।
यता नेतृत्व परिवर्तनको माग सार्वजनिक भएपछि अध्यक्ष सीके राउतले सामाजिक सञ्जालमार्फत आफ्ना आलोचकहरूलाई व्यंग्यात्मक जवाफ दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ’प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने । यदि कसैलाई पार्टीमा उकुसमुकुस लागेको छ भने यही सही समय हो । मौकाको सदुपयोग गर्नुहोस् ।’ उनले पार्टीलाई खोक्रो बनाउन खोज्नेहरूलाई बाहिरिन आग्रह गर्दै जनमतलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । राउतले यही अवसरलाई शुद्धिकरणको मौका भन्दै पार्टीभित्र अनुशासनहीनता र असन्तुष्टिलाई अन्यथा नलिने बताएका छन् । उनले थपे, ’जसलाई नेतृत्व लिन मन लागेको छ, लिए हुन्छ । जनमत पार्टी जनताको मतबाट चल्छ, बाहिरबाट होइन ।’
जनमत पार्टी स्थापना भएदेखि नै आन्तरिक विवादबाट मुक्त हुन सकेको छैन । स्वतन्त्र मधेस आन्दोलनलाई रूपान्तरण गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको यो पार्टीमा शुरु देखिनै नेताहरूबीचको अविश्वास, गुटबन्दी र संगठनात्मक कमजोरी चर्को देखिएको थियो । पार्टी महाधिवेशन स्थगित हुँदै आएको र आन्तरिक लोकतान्त्रिक प्रक्रियामा गम्भीर प्रश्न उठ्दै आएको सन्दर्भमा हालको विवाद सतहमा आएको हो । यसैबीच जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । पार्टीको निर्णयअनुसार मुख्यमन्त्री सतिश कुमार सिंहलाई फिर्ता बोलाइएको भए पनि उनले अहिलेसम्म लिखित राजीनामा बुझाएका छैनन् । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाउँदै मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी दिएका थिए । तर मुख्यमन्त्री सिंहले लिखित राजीनामा नदिएकाले प्रदेशमा सरकार निर्माणबारे अन्योल बढेको छ ।
प्रदेश सभामा सहभागी दलहरू मुख्यमन्त्रीको औपचारिक राजीनामा पर्खिरहेका छन् । एमाले मधेसका नेता एवं मन्त्री सरोज यादवले समेत मुख्यमन्त्रीले लिखित राजीनामा दिएपछि मात्रै नयाँ सरकारबारे बहस सुरु हुने बताए । कांग्रेस नेता कृष्ण यादवले पनि संविधान अनुसार मुख्यमन्त्रीलाई अझै विश्वासको मत लिन पाउने अधिकार रहेकाले तत्काल नयाँ सरकार निर्माण सम्भव नभएको प्रस्ट पारेका छन् । एकातिर पार्टी नेतृत्वमै प्रश्न उठेको छ भने अर्कोतिर प्रदेश सरकारसमेत ठप्प अवस्थामा छ । यसले जनमत पार्टीको राजनीतिक भविष्य झन् अनिश्चित बनाएको विश्लेषकहरूको भनाइ छ । अध्यक्ष राउतको नेतृत्वलाई चुनौती दिँदै पदाधिकारीहरूले दिएको अल्टिमेटम र सरकारसम्बन्धी अनिश्चितताले पार्टीलाई गम्भीर संकटतर्फ धकेलेको छ । सीके राउत आफैंले समेत आलोचकलाई पार्टी छोड्न सुझाएको अवस्थाले आगामी दिनमा ठूलो संख्यामा नेता–कार्यकर्ता बाहिरिने आशंका बढेको छ । यहीबीच पार्टीले चैतमा महाधिवेशन गर्ने तयारी गरेको भए पनि नेतृत्व संकट र आन्तरिक असन्तुष्टिका कारण त्यो अनिश्चित बनेको छ ।