काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो । संघका प्रवक्ता गंगाधर गौतमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनले देशका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ । त्यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हातेमालो गर्दै पुनर्निर्माणमा सहयोग गर्न तयार छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।’ संघका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ । विशेषगरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ ।
तर केही सञ्चारमाध्यमले एनआरएनएको नाम प्रयोग गरेर व्यक्तिगत घर बनाउनका लागि पैसा उठाइरहेको भन्ने खालको समाचार प्रकाशित गरेको प्रसंगमा संघले आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ’व्यक्तिगत प्रयोजनका लागि रकम उठाइएको भन्ने समाचार पूर्णतया निराधार र भ्रामक छ । यसले संस्थाको साखमाथि प्रश्न उठाउने प्रयास मात्र हो ।’ यस्तो प्रचारमा एनआरएनएकै बद्री केसी पक्ष सक्रिय रहेको बताइएको छ । जवकि केसी पक्ष हालसम्म जलेको संसद भवन अगाडि गएर फोटो खिचाउनमा मात्रै सीमित भएको छ । संघले भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक आघात पु¥याएको भन्दै त्यसबाट उठ्न सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएको छ । विशेष गरी सार्वजनिक सम्पत्तिको पुनःस्थापना र सुरक्षामा सहयोग गर्न गैरआवासीय नेपाली समुदाय अग्रसर रहेको स्पष्ट गरिएको छ ।
अध्यक्ष श्रेष्ठले शनिबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक निर्णय गरेर ‘ट्राफिक प्रहरी सीसीटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट अघि बढाउने जानकारी दिए । त्यसका लागि विस्तृत प्राविधिक खाका तयार गरिएको र लागत करिब ७४ लाख रुपैयाँ अनुमान गरिएको उनले बताए । श्रेष्ठका अनुसार, संघले पहिलो चरणमा काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमा रहेका सीसीटिभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र आवश्यक उपकरणहरूको पुनर्संचालनमा सहयोग गर्नेछ । ‘सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो । हामीले यसमा योगदान दिनु मातृभूमिप्रति हाम्रो दायित्व हो,’ अध्यक्ष श्रेष्ठले भने ।
एनआरएनएले मंगलबार नै ‘नेपाल पुनःनिर्माण अभियान’ घोषणा गर्दै विश्वभरका नेपालीहरूलाई सहयोगका लागि आह्वान गरिसकेको छ । भूकम्प, बाढी वा महामारीजस्ता संकटमा पनि गैरआवासीय नेपालीहरूले निरन्तर साथ दिएको स्मरण गर्दै श्रेष्ठले यसपटक पनि मातृभूमि उकास्नैपर्ने बेला आएको बताए । ‘हामी सबै मिलेर नेपाललाई पुनःनिर्माण गरौं, सुरक्षात्मक संरचना पुनस्र्थापना गरौं र समुदायलाई फेरि आशावादी बनाऔं,’ श्रेष्ठले आग्रह गरे । श्रेष्ठले केही व्यक्तिहरूले फैलाएको आधारहीन प्रचारको कुनै सत्यता नरहेको बताउँदै भने, ‘हाम्रो योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित छ ।’ व्यविपद्को समयमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउँदै उनले यस्तो बेलामा कसैले पनि अफवाह फैलाउन नहुनेमा जोड दिए । श्रेष्ठका अनुसार शनिबार हुने बैठकबाट आधिकारिक निर्णय गरेर ठोस कार्ययोजना सार्वजनिक गरिने छ । श्रेष्ठ नेतृत्वको आधिकारिक एनआरएनएका अनुसार विगतमा नेपालमा आएका हरेक प्राकृतिक विपत् र संकटका बेला संघले सरकारसँग सहकार्य गर्दै सहयोग गर्ने गरेको छ । भूकम्प, बाढी–पहिरो, महामारीलगायतका कठिन परिस्थितिमा एनआरएनएले राहत, उद्धार र पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस पटक पनि त्यही निरन्तरतामा काम भइरहेको संघले जनाएको छ ।