रामहरि कार्की, बिजय खड्का
जेन जेड, जसलाई ‘मिलेनियल्स’ पछि आउने पुस्ता भनेर पनि भनिन्छ, ती युवा पुस्ताहरू हुन् जो सन् १९९७ देखि २०१२ को बीच जन्मेका हुन् । यी युवा प्रविधि र इन्टरनेटको साथसँगै हुर्किएका हुन्छन् र डिजिटल संसारसँग गहिरो सम्बन्ध राख्छन् । उनीहरू सामाजिक सञ्जाल, स्मार्टफोन र अनलाइन सामग्रीसँग सहज रूपमा जडित हुन्छन्, जसले गर्दा उनीहरूको सञ्चार र जानकारी ग्रहण गर्ने तरिका परम्परागतभन्दा फरक हुन्छ । जेन जेडका युवाहरू स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायका पक्षमा अडिग हुन्छन् ।
नयाँ विचार र प्रविधिहरूलाई अपनाउन तत्पर हुन्छन् । यस पुस्ताका मानिसहरू परम्परागत मूल्य, मान्यता र जीवनशैलीसँग केही फरक पनि हुन्छन् । उनीहरू स्वच्छन्दता, व्यक्तिगतता र अन्वेषणमा विश्वास गर्दछन् र आफूलाई व्यक्त गर्न सामाजिक माध्यमहरूको प्रयोग गर्दछन् । साथै, उनीहरू पर्यावरणीय मुद्दा, समानता र सामाजिक सङ्घर्षहरूमा जागरुक हुन्छन् । उनीहरूको ग्राहक प्रवृत्ति र जीवनशैलीले बजार र समाजमा नयाँ परिवर्तन ल्याएको छ । यसले व्यवसाय र नीति निर्धारणमा पनि नयाँ दृष्टिकोणहरू आवश्यक बनाएको छ ।
नेपालको जनगणना २०७८ अनुसार, हाम्रो जेन जेड उमेर समूहका युवा करिब १ करोड २४ लाख छन् । यस विशाल युवाशक्ति भित्र महिलाको प्रतिशत ५२.९% र पुरुषहरूको प्रतिशत ४७.१% रहेको छ । देशभरका १ करोड २४ लाख युवाको आवाज कसरी सुनिने? प्रतिनिधि कसरी छान्ने? स्वघोषित प्रतिनिधि घोषणा गर्नुले कुनै वास्तविक अर्थ राख्दैन । जेन जेड पुस्ता आफैं सक्षम पुस्ता हो । उनीहरू आफ्ना माग राख्न, देशको सङ्कट समाधान गर्न र अगाडि बढ्ने मार्गनिर्देशन दिन आफै सक्षम छन । यो विशाल शक्ति भित्र लाखौं प्रतिभाशाली, क्षमता सम्पन्न युवा छन् । यो शक्तिले आवश्यकता अनुसार देशका महत्वपूर्ण निर्णयमा प्रभाव पार्न सक्छ ।
हामी सहयोग, जागरूकता र नेतृत्वको माध्यमबाट मात्र राष्ट्रलाई परिवर्तनको दिशामा अघि बढाउन सक्छौँ । त्यसैले, क्षमता बिहिन र असक्षम समूहको भ्रम फैलाउने प्रयास कसैले नगरोस् भन्ने उनीहरू चाहन्छन । राजनीतिक पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता, शैक्षिक नीतिको संरचनात्मक पुनरावलोकन, सुधार, रोजगारीका अवसर विस्तार, श्रम बजारमा न्यायपूर्ण पहुँच, भ्रष्टाचारविरुद्ध कठोर कारबाही, नीति निर्माणमा युवाको औपचारिक सहभागिता, सामाजिक सञ्जालमाथिको नियन्त्रण खुल्ला हुनुपर्ने उनीहरूको माग थियो । यी मागहरू प्रस्तुत भएपछि पनि जब तत्कालीन सत्ता संरचनाले बेवास्ता ग¥यो, आन्दोलन क्रमशः तीव्र हुँदै सडकमा फैलियो । स्वतःस्फूर्त रूपमा सुरु भएको प्रदर्शनले पछि सङ्गठित रूप लिन थाल्यो र विभिन्न पेशागत संघ, स्वतन्त्र नागरिक अभियन्ता तथा केही शैक्षिक वृत्तसमेत यसमा सहानुभूति जनाउँदै सहभागी भका थिए ।
जेन जेडको बिश्व इतिहासः
जेन जेडको विश्व इतिहासमा भएका मुख्य आन्दोलनहरूमा सामाजिक न्याय, समानता र प्रविधिको प्रयोगले उत्पन्न भएका परिवर्तनहरू प्रमुख छन् । विशेष गरी २०औं र २१औं शताब्दीमा युवाहरूले जातीय समानता, लैंगिक समानता र वातावरणीय संरक्षणका लागि विश्वव्यापी रूपमा आवाज उठाएका छन् । उदीयमान जेन जेड युवा सामाजिक सञ्चाल र डिजिटल मिडिया प्रयोग गरी फरक फरक आन्दोलनहरूमा सक्रिय भाग लिएका छन् । ती मध्ये ब्ल्याक लाइभ म्याटर र क्लाइमेट स्ट्राइकहरू रहेका छन् । यी आन्दोलनहरूले विश्वव्यापी स्तरमा सामाजिक चेतना र परिवर्तनको मागलाई बढावा दिएका छन्, जसले पुरानो परम्परागत प्रणालीहरूलाई चुनौती दिएका छन् ।
यसै क्रममा, जेन जेडले प्रविधिको प्रयोग र डिजिटल मिडियालाई अभियान र आन्दोलनको मुख्य माध्यम बनाएका छन् । सामाजिक सञ्जालहरूको माध्यमबाट उनीहरूले विश्वव्यापी रूपमा आफ्ना आवाजहरू फैलाएका छन् र सरकार तथा समाजलाई परिवर्तन गर्न दबाव दिएका छन् । उदाहरणका लागि, २०१९ को हङकङको आन्दोलन र अन्तर्राष्ट्रिय जलवायु परिवर्तनको अभियानहरूमा, उनीहरूको सक्रियता देखिएको थियो । जेन जेडले आधुनिक युगमा सामाजिक र राजनीतिक परिवर्तनको लागि नयाँ ढङ्गले नेतृत्व प्रदान गरेको छ । विश्व इतिहासमा यी नयाँ आन्दोलनहरूलाई स्थायी प्रभाव पारिरहेको छ । भर्खरै हाम्रा छिमेकी राष्ट्र श्रीलङ्का, बंगलादेश, पाकिस्तान, इन्डोनेशियालगायतका देशहरूमा पनि कुनै न कुनै बाहनामा यस्तै खाले आन्दोलनले उथलपुथल ल्याएकै थियो तर नेपालमा जति छोटो समय करिव ४८ घण्टामा यस्तो खतरनाक अवस्था भने ल्याएको थिएन ।
जेन जेड आन्दोलन के को लागि ?
जेन जेड युवाहरूको मुख्य माग भनेकै सामाजिक सञ्जाल बन्दको बिरोध, रोजगारी, पारदर्शिता र सरकारी निकायमा हुने भ्रष्टाचार बिरुद्धको आवाज थियो । विसं.०८२ भदौ २३ गते शङ्खघोष गरिएको जेन जी युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक प्रेरणादायी र परिवर्तनको आशाले भरिएको देखिए पनि केही घण्टामै यसको स्वरूप परिवर्तन हुन थाल्यो । करिव दिंउसोको १ः३० बजेबाट आन्दोलनमा नसोचेको घटना शुरु भयो । पहिलो दिन १९ जना युवाहरूले ज्यान गयो भने दोस्रो दिन भदौ २४ गते ब्यापक रूपमा राजनैतिक नेताहरूको भौतिक कारबाही र भौतिक संरचना नेताहरूको घर, डिपार्मेन्टल स्टोरहरू, विद्यालय, संसद भवन, प्रहरी चौकीहरू, देशको प्रमुख प्रसासनिक भवन सिंहदरवार र सर्वोच्च अदालतसम्म क्षण भरमै खरानी हुनुको साथै लुटपाट र आगजनीको घटना भयो ।
आन्दोलनको शुरुवातमा युवाहरूले आफ्नो हक र अधिकारको लागि आवाज उठाए पनि, ती प्रदर्शनहरू केही समयमा नै अराजकता, हिंसा र दिशाहीनतामा परिणत भए । यसले स्पष्ट देखायो कि, समकालीन समयमा आन्दोलनहरू केवल जनआन्दोलन मात्र होइन, कतिपय शक्तिहरूको स्वार्थ र योजना कार्यान्वयनको माध्यम पनि बन्न थालेका छन् । इतिहास हेर्दा, विगत १५० वर्षदेखि नै यहाँ अनेकौं आन्दोलनहरू भए, तर ति आन्दोलनहरूले सधैं नै सामाजिक परिवर्तन ल्याउन सकेनन् । बलिदान र सङ्घर्षका बाबजुद पनि, सामन्तवादको जकडबाट जनता छुट्न सकेनन्, जसले देशको लामो स्वतन्त्रता र परिवर्तनको सपना अवरुद्ध ग¥यो ।
विसं. २०५२ सालको माओवादी नेतृत्वको जनयुद्धले नेपालको राजनीतिक स्थलमा नयाँ युग ल्यायो । यस क्रान्तिले राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र स्थापना ग¥यो, जुन सफल र ऐतिहासिक परिवर्तन थियो । तर, यसले पनि नयाँ शक्ति र शक्ति खेलहरूलाई जन्मायो, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हस्तक्षेपहरू बढायो । विशेष गरी, अमेरिकाले यस आन्दोलन र परिवर्तनलाई आफ्नो राष्ट्रिय हितको लागि खतराका रूपमा हे¥यो । त्यसैगरी चीन र भारतको भूमिका पनि नेपालमा ठूलो प्रभाव पार्दै आएको छ । यहाँको राजनीतिक र सुरक्षा रणनीतिलाई जटिल बनाएको छ । यस क्रममा, नेताहरूको भ्रष्टाचार र जनताका आवश्यकताप्रति उदासीनता बढ्दै गएर देशको विभाजन र अस्थिरता अझ बढ्यो ।
सन् २००८ को गणतन्त्रको स्थापना पछि, देशको अवस्था अझ जटिल बन्दै गयो । नेताहरूको भ्रष्टाचार, अस्वाभाविक व्यवहार र जनताको आवश्यकतालाई बेवास्ता गर्नाले सामाजिक दूरी र असन्तुष्टि बढ्यो ।
अमेरिकी र अन्तर्राष्ट्रिय शक्तिहरूको नेपालमा सक्रियता, विशेष गरी, सेनामा घुसपैठ र राजनैतिक अस्थिरता फैलाउने प्रयासहरू स्पष्ट देखिए । सोशल मिडिया र ‘जेन–जी आन्दोलन’ को नाममा युवाहरूको आक्रोशलाई योजनाबद्ध रूपमा प्रयोग गरिएको थियो । देशभित्र नयाँ सङ्घर्ष र अस्थिरता जन्मायो । अन्ततः, यी सबै घटनाक्रमहरूले नेपाललाई एउटा कठिन मोडमा पु¥याएको छ । अझै पनि राष्ट्रको मार्गनिर्देशन र सही दिशा खोज्न आवश्यक छ र सबै सचेत वर्गले सावधानी अपनाउनु अनिवार्य भएको छ ।
नेपाली युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक ऐतिहासिक पहलको आभास दिलायो, तर केही घण्टामै यसको अराजक, बर्बर र दिशाहीन स्वरूप देखा पर्न थाल्यो । अतीतका १५० वर्षमा यहाँ अनेकौं आन्दोलनहरू भए । धेरैले बलिदान दिए । तर सामन्तवादको जकडबाट जनता मुक्त हुन सकेनन् । निःसन्देह, विसं २०५२ सालमा माओवादीको नेतृत्वमा सुरु भएको जनयुद्धले विस.ं २०६२÷०६३ मा राजतन्त्र उखालेको हो । करिब २५० वर्ष पुरानो राजतन्त्र हटेर गणतन्त्र आयो । त्यो एक क्रान्ति थियो—सफल क्रान्ति । तर त्यसबेलादेखि नै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रमणकारी शक्तिहरू सक्रिय भए । नेपालमा माओवादीहरूको सफलता र वामपन्थी लहरले अमेरिकालाई सबभन्दा धेरै त्रसित बनायो । छिमेकी चीन नहुँदो हो र नेपाल कुनै लाटिन अमेरिकी मुलुक भएको भए, उसले आफ्ना सैनिक धेरै अघिनै उताथ्र्यो । उसले चाहेको थियो नेपाललाई पनि इन्डोनेसियाको अवस्थामा पु¥याउन, तर सकेन ।
त्यसैले धैर्यपूर्वक उपयुक्त समयको पर्खाइ ग¥यो । सन् २००८ पछि बितेका १७ वर्षमा सत्ताको शिखरमा पुगेका नेताहरूको आचरण, भ्रष्टाचार र जनताका आधारभूत मागप्रति गरेको उपेक्षाले नेताहरू र जनताबीचको दूरी यति बढायो कि अब त्यो दूरी कम गर्न असम्भवझैँ लाग्छ । केपी ओली हुन् वा शेरबहादुर देउबा—दुवैमा को बढी भ्रष्ट भन्ने ठम्याउन गाह्रो छ, तर प्रचण्डको यस पंक्तिमा पर्नु भनेको अत्यन्तै दुखद हो ।
निःसन्देह, यी दुवैको तुलनामा प्रचण्ड कम भ्रष्ट कहलिएलान् । तर प्रचण्ड त एक विचारधारामा अडिएका कम्युनिष्ट नेता थिए । उनको नामसँग ‘भ्रष्ट’ शब्द जोडिनु, अरू दुवैको भ्रष्टाचारभन्दा कैयौँ गुणा बढी गम्भीर हुन्छ । राजतन्त्रको अन्त्यसँगै सबैभन्दा बढी असहज अमेरिकालाई भयो । सन् २००३ फेब्रुअरी २८ मा वाशिङटनमा अमेरिकी उपसहायक विदेश मन्त्री डोनाल्ड क्याम्पले भनेका थिए, यदि नेपालमा माओवादी सफल भए भने यसले अमेरिकाको राष्ट्रिय हितमा चोट पु¥याउँछ । उनले नेपालको स्थितिमा अमेरिका ‘हरेक दिन’ नजर राखिरहेको पनि भनेका थिए । त्यो बेलामा जनयुद्ध चलिरहेको थियो । दक्षिण एशियामा भारतको सहयोग बिना अमेरिकाले आफ्नो प्रभुत्व जमाउन सक्दैन र भारत सधैँ राजतन्त्रको पक्षमा रह्यो । नेपालको सन्दर्भमा ‘ट्विन पिलर थ्योरी’ अर्थात् दुई स्तम्भको सिद्धान्त एक राजतन्त्र र अर्को राजनीतिक दलहरूलाई स्थायित्वको आधार ठानिन्थ्यो ।
तर, यी सबैका बाबजुद प्रचण्डको नेतृत्वमा जनमुक्ति सेनाले राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही नेपाली सेनालाई हरायो र राजधानी काठमाडौं चारैतिर घे¥यो । अमेरिका मौन बस्न बाध्य भयो । त्यसपछि अमेरिकाले नेपाली सेनाभित्र घुसपैठ सुरु ग¥यो र गणतन्त्र आए पछि यो प्रक्रियाले गति पायो । अघिदेखि भारत र नेपालबीच सेनात्मक ‘बिरादरी’ सम्बन्ध रहेको मानिन्थ्यो र त्यो हदसम्म सत्य पनि थियो । तर अमेरिकाको प्रवेशप्रति आम रूपमा ध्यान दिइएन । प्रचण्डलाई यसबारे चेतावनी दिइँदा पनि उनले यसलाई सामान्य ठाने ।
एक अपुष्ट जानकारीअनुसार नेपाली सेनाका २०० भन्दा बढी अधिकारीहरू अमेरिका–प्रभावमा छन् र यो क्रम लामो समयदेखि चल्दै आएको छ । सोशल मिडिया प्रतिबन्धलाई बहाना बनाएर सुरु भएको ‘जेन–जी आन्दोलन’ युवाहरूका वास्तविक मागलाई लिएर देखापरेको थियो र पहिलो नजरमा स्वतःस्फूर्त झैँ लाग्थ्यो । तर त्यो स्वतःस्फूर्त थिएन, बरु योजनाबद्ध र व्यवस्थित थियो । युवाहरूका वास्तविक गुनासोहरूलाई आफ्नो पक्षमा प्रयोग गर्ने शक्तिहरू पर्दा पछाडिबाट सञ्चालन गरिरहेका थिए र अमेरिका गणतन्त्र, लोकतन्त्र र वामपन्थविरोधी आफ्नो एजेन्डा लागू गर्न प्रतिक्रान्तिको तयारी गर्दै मैदानमा उत्रिसकेको थियो । हामीलाई आन्दोलनको दोस्रो दिनमै यसको आभास भयो, जब समाचार आयो कि सेनाप्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन भनेका छन् । यसअघि नेपालमा कहिल्यै पनि सेनाप्रमुखले निर्वाचित प्रधानमन्त्रीलाई आदेश दिने आँट गरेको थिएन ।
आन्दोलनकारीहरूले जति ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट गरे, त्यसले पनि देश र जनताप्रति उनीहरूको प्रतिबद्धता कस्तो थियो भन्ने देखायो । मुख्य पात्रहरूमा छन् काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाह र ‘हामी नेपाल’ नामक एनजीओका सञ्चालक सुदन गुरुङ । सन् २०२३ मा टाइम पत्रिकाले चयन गरेका १०० व्यक्तिहरूमध्ये बालेन शाह पनि परेका थिए । सुदन गुरुङको ‘हामी नेपाल’ एनजीओलाई केही अमेरिकी कम्पनीहरूले करोडौँ रूपैयाँको आर्थिक सहयोग दिएका छन् । अहिले नै नेपाल कुन दिशामा जानेछ भन्ने भन्न हतार हुनेछ । तर यसमा कुनै शङ्का छैन कि नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ । दुई दिनको पागलपनपछि अब नेपालका सचेत वर्ग पनि आत्ममन्थन गर्दैछन ।
नेपाली युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक प्रेरणादायी र परिवर्तनको आशाले भरिएको देखिए पनि केही घण्टामै यसको स्वरूप परिवर्तन हुन थाल्यो । आन्दोलनको शुरुवातमा युवाहरूले आफ्नो हक र अधिकारको लागि आवाज उठाए पनि, ती प्रदर्शनहरू केही समयमा नै अराजकता, हिंसा र दिशा हिनतामा परिणत भयो । यसले स्पष्ट देखायो कि, समकालीन समयमा आन्दोलनहरू केवल जनआन्दोलन मात्र होइन, कतिपय शक्तिहरूको स्वार्थ र योजना कार्यान्वयनको माध्यम पनि बन्न थालेका छन् । इतिहास हेर्दा, विगत १५० वर्षदेखि नै यहाँ अनेकौं आन्दोलनहरू भए, तर तीले सधैं नै सामाजिक परिवर्तन ल्याउन सकेनन् । बलिदान र सङ्घर्षका बाबजुद पनि, सामन्तवादको जकडबाट जनता छुट्न सकेनन्, जसले देशको लामो स्वतन्त्रता र परिवर्तनको सपना अवरुद्ध ग¥यो ।
नेपालको जेन जेड आन्दोलनका उपलब्धीहरू
सामाजिक चेतना र जागरुकताः जेन जेड आन्दोलनले युवाहरूमा सामाजिक, राजनीतिक र आर्थिक विषयहरूमा जागरूकता बढायो । उनीहरूले आफ्नो अधिकार, सामाजिक समानता र वातावरणीय संरक्षणका लागि आवाज उठाए, जसले समाजमा नयाँ चेतना र जागरूकता ल्यायो ।
डिजिटल र सामाजिक संजालको प्रयोगः आन्दोलनले युवाहरूलाई प्रविधि र सामाजिक संजालको प्रयोग गरी आफ्नो आवाज फैलाउन सक्षम बनायो । यसले सरकार र समाजप्रति दबाव र परिवर्तनको मागलाई तीव्र बनायो ।
रचनात्मक र नागरिक सहभागिताः अधिकांश युवाहरूले आन्दोलन मार्फत आफ्नो रचनात्मकता देखाए र सामाजिक तथा राजनीतिक विषयहरूमा सक्रिय सहभागीता जनाए । यसले युवा वर्गको राजनीतिक र सामाजिक जिम्मेवारीबोधलाई बलियो बनायो । सरकारको ध्यानाकर्षण र नीति परिवर्तनः युवा आन्दोलनले सरकार र नेताहरूलाई आफ्नो माग र आवश्यकताका विषयमा ध्यान दिन बाध्य बनायो । केही मामिलामा नीति र कानुनमा सुधार गर्नुको साथै सामाजिक चेतना फैलाउने अभियानहरू सुरु भए ।
राष्ट्रिय नयाँ नेतृत्वको उदयः आन्दोलनबाट नयाँ युवाको नेतृत्व उदाएको देखियो, जसले भविष्यमा राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्ने सम्भावना बलियो बनायो । यसले दीर्घकालीन रूपमा नयाँ विचारधारा र नेतृत्वप्रति अपेक्षा जगायो ।
समाजमा नयाँ मूल्य र मान्यताहरूको स्थापनाः युवाहरूले समानता, स्वतन्त्रता र मानवअधिकारजस्ता मूल्यलाई प्राथमिकता दिएर समाजमा नयाँ मान्यता स्थापना गर्न मद्दत गरे । यसले परम्परागत धारणा र प्रणालीमा नयाँ सोच र परिवर्तन ल्यायो ।
यी उपलब्धीहरूले नेपालमा युवा शक्ति र सामाजिक जागरूकता बढाउन मद्दत गरेको छ र भविष्यमा थप परिवर्तनको आधार तयार पारेको छ ।
अबको जेन जेडको बाटो र निष्कर्ष
जेन जेड युवाको आन्दोलन मूलतः सामाजिक सञ्जाल बन्द, सूचनाको हक बिरुद्ध र भ्रष्टाचार विरुद्ध थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानअन्तर्गत राष्ट्रपतिसमक्ष राजीनामा दिएपछि आन्दोलनकारीले आन्दोलन फिर्ता भएको घोषणा गरेका थिए । त्यो विन्दुसम्म संवैधानिक भ्याकुम थिएन तर पनि आग्जनी र कुटपिट आन्दोलनकारीले आन्दोलन फिर्ता गरेपछि भयो ति घृणित कामहरू जसले गर्यो त्यो जेन जेड युवाहरूको थिएन र ति घटनाको स्वामित्व आन्दोलनकारीले स्विकार गरेका छैनन् । ती घटनाहरू घट्दा सेनाको आगनमै भएका र आँखा अगाडि नै घटेका थिए । प्रधानमन्त्री राजिनामा दिएर सेनाको सुरक्षा/नियन्त्रणमा गइसकेपछि पनि भ्याकुमजस्तो देखिएको त्यसै अवधिमा हो । हुन त सेना परिचालन हुने पनि बिधि विधान बमोजिम होला यद्यपी सेनाको भूमिका प्रष्ट नहुनुले धेरै भौतिक संरचनाहरू ध्वस्त हुन पुग्यो । दलहरूमा सन्नटा छाएको थियो हायलकायल भएका हुन्, चकमन्नमा परेका हुन् । उनीहरूलाई परास्त गरिएको होइन । उनीहरू अहिलेपनि राजनीतिक स्टेक होल्डर हुन् ।
काग्रेस, एमाले पनि प्रत्यक्ष कार्यकारीलगायतका सवालमा जान बाध्य हुने परिश्थिति निर्माण भएको थियो । अहिले नै राष्ट्रिय सहमतिका आधारमा ति कुरा संविधानमा राख्न सकिने र सबैले स्वामित्व लिने स्थिति छदै थियो । उनीहरूले चाहेको पुस्तान्तरण र सुद्धिकरणसहितको राजनीति हो । यसको प्रस्थानबिन्दु चुनावी सरकार गठनबाटै मात्र हुन सक्दथ्यो । संसदभित्रकै सांसदहरूलाई नेतृत्व दिन सकिन्थ्यो । सुशीलाकै नाममा सहमति भएपनि संसदको पहिलो बैठकबाट उनका लागि संवैधानिक बाटो फुकाउने गरी संविधान संशोधन गर्न दल सहमत थिए । यसो गर्दा संवैधानिक प्रष्टता र राष्ट्रिय अपनत्व हुनेथियो । अन्तराष्ट्रिय ओझ बढ्ने र चलखेल निष्क्रिय हुनेथियो । युवाहरूले उठाएका माग मुद्धामा प्रधानमन्त्रीमा शुसिला कार्कीलाई ल्याएर केही राहत भएता पनि संसद बिघटन गर्नु हुदैन्थ्यो ।
संसद बिघटनले कालन्तरमा देश फेरी अस्थिरता तर्फ धकेलिने सम्भावना पनि उत्तिकै छ । जनताको म्यानडेटबाट पाँच वर्षको लागि जितेर आएका सांसदहरूले फेरी संसद पुनः स्थापनाको माग लिएर सर्वोच्चमा रिट लिएर जानेछन र यसअघि संसद बिघटन नगरी ब्युताइदिएको नजीर पनि रहेको छ । यो आन्दोलनलाई बन कुखुरा मार्न गाको बाघको शिकार भयो टोक्न पनि सकेन बोक्न पनि सकेन भनि सामाजिक सञ्जालमा व्यङ्ग्य गरिएको जस्तो नहोस् । जेन जेड युवाहरूले सुझबुझका साथ राष्ट्रिय हितलाई ध्यानमा राखि बडो होशियारीका देशमा साच्चिकै परिवर्तन ल्याउन आफ्नो ज्यान आहुती गर्ने ती युवाहरूको आत्मालाई शान्ति दिनको लागि भएपनि आफ्नो प्रमुख माग मुद्धा किनारा नलागेसम्म आन्दोलन जारी राख्नु पर्ने देखिन्छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij