आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युएईले नेपालीलाई भिजिट भिसा अस्थायी रूपमा रोकेको संकेत

सोमबार, भाद्र ३० २०८२

निश्चल दाहाल

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि भिजिट भिसा अस्थायी रूपमा रोकेको छ भन्ने जानकारी सार्वजनिक भएको छ। यद्यपि, यसबारेमा युएई सरकारले आधिकारिक घोषणा भने गरेको छैन।

भिसा सेवा प्रदायक कम्पनीहरूले सोमबारदेखि नेपालीहरूको नयाँ आवेदन लिन बन्द गरेका छन्। आवेदन पेस गर्न आउनेहरूलाई अस्थायी रोक लगाइएको भनेर जानकारी दिइएको छ।

नेपालमा भदौ २४ गते भएको प्रदर्शनका दौरान कैदी फरार भएको समाचार सार्वजनिक भएपछि युएईले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ। नेपाली नागरिकहरू सहजै भिजिट भिसा लिएर सबैभन्दा धेरै जाने गन्तव्य मुलुक युएई नै हो।

युएईस्थित नेपाली दूतावासले भने यो बिषयमा  औपचारिक सूचना दूतावासमा नआएको तर पनि नेपालीहरूले भिसा रोकिएको खबर दिएको बताएको छ।

तुलनात्मक रुपमा हालका वर्षहरूमा ठूलो संख्यामा नेपालीहरू भिजिट भिसा लिएर रोजगारीका लागी युएइ लागेका छन्। धेरैले रोजगारी नपाउने जसकारण भिसा अवधि नाघिने समस्या बढ्दै गएको भन्दै युएईले यसलाई पनि गम्भीरतापूर्वक नियालिरहेको दुतावासले नै जानकारी दिदै आएको थियो।

दूतावासका तथ्यांकअनुसार, करिब तीन लाख बढि नेपालीले भिजिट भिसाबाट रोजगारी भिसामा रुपान्तरण गरेका छन् भने हाल युएईमा झण्डै आठ लाख नेपाली बसोबास गर्ने अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार