शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला हाम्रो पार्टी कार्यालय र निजी निवासमा कसले आगो लगायो ? प्रचण्ड

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान राजनीतिक अन्यौलताको निकास संविधान भित्रबाटै खोज्नुपर्ने बताएका छन्।

बिहीबार सार्वजनिक अपिल जारी गर्दै उनले संविधान बाहिरबाट निकास खोज्ने प्रयत्न भए प्रतिगमनकारीलाई फाइदा पुग्ने बताएका छन्।

जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला पनि आफूहरूको पार्टी कार्यालय र निजी निवासमा आगो लगाउने घटना गम्भीर भएको भन्दै अकल्पनीय घटनाप्रति खेद प्रकट गरेका छन्।

‘जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो रु यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ। यस खालका घटना जेनजी पुस्ताको घोषित नीति र आदर्श विपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन।’ प्रचण्डले लेखेका छन्, ‘हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्दछौं।’उनले नेकपा माओवादी केन्द्र र अरु पार्टीलाई एउटै डालोमा हाल्न नमिल्ने दाबी पनि गरेका छन्।

हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्‍यौं। त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं।’ उनले लेखेका छन, ‘गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरू एउटै होइनन्।

सरकारका कारण अहिलेको परिस्थिति निम्तिएको भन्दै उनले अब राष्ट्र अग्रगमनतर्फ अघि बढ्ने संभावनाको ढोका खोलेको पनि उल्लेख गरेका छन्।

‘संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठ्न नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो। आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ। हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं।’ उनले लेखेका छन्, ‘आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ। यसका लागि जेनजी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार