आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

केपी ओली नेतृत्वमा सरकार गठनपछि संसदको रोष्ट्रमबाट अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ : प्रचण्ड

बिहिबार, भाद्र २६ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले परिवर्तनविरोधीहरूले माओवादी केन्द्रबारे झूठो प्रचार फैलाइरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

प्रचण्डले अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा साथ समर्थन रहने बताएका छन्।

उनले केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसदको रोष्ट्रमबाट अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको स्मरण गराएका छन्। तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरहेको र अहंकारकै बाटोमै हिँडिरहेकाले अहिलेको अवस्था आएको उल्लेख गरेका छन्।

उनले संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठ्न नसक्दा जनतामा आक्रोश चुलिएको बताएका छन्। आफूले राखेका माग जेनजीले उठाएको उल्लेख गरेका छन्। ‘आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ। यसका लागि जेन जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ’, उनले लेखेका छन्।

प्रचण्डले जेन जी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गरेका छन्। उनले प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरूपमा निकासका पक्षमा लाग्न आह्वान गरेका छन्।

उनले जेन(जी पुस्ताले आह्वान गरेको आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण युवामा भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ‘ आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौँ’, उनले लेखेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार