शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जेएनजीको आन्दोलन : औचित्य, परिणाम र राष्ट्रप्रतिको चुनौती

बुधबार, भाद्र २५ २०८२

दिपक सुबेदी बिप्लब, सयोजक एनआरएन कान्तो जापान

नेपाल आज एक संवेदनशील मोडमा उभिएको छ। युवापुस्ताको आक्रोश सडकमा उर्लिएको छ। विशेषतः जेनेरेसन–जेडले देखाएको विद्रोहलाई सामान्य असन्तोषका रूपमा मात्र व्याख्या गर्न सकिँदैन। यो आन्दोलनको मूल जरो देशमा व्यापक फैलिएको बेथिती, विसङ्गति र चरम भ्रष्ट्राचार हो।

आन्दोलनको औचित्य

राजनीतिक नेतृत्व, प्रशासन, न्यायपालिका र संवैधानिक निकायहरूमा निरन्तर देखिएको अपारदर्शिता र भ्रष्ट आचरणले युवामनमा असह्य आक्रोश जन्माएको छ। त्यसैले, विद्यमान असमानता र अन्यायविरुद्ध उठेको यो स्वर आफैँमा न्यायोचित छ। तर, आन्दोलनको स्वरूपले कहिलेकाहीँ गलत बाटो लिन पुग्दा जनताकै सम्पत्ति र इतिहासलाई क्षति पुगेको देखिन्छ।

गलत दिशामा मोडिएको आक्रोश

सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म, प्रशासनिक भवनदेखि अख्तियारसम्म, जेलदेखि अन्य सरकारी संरचनासम्म आगोले छोप्नु भनेको राज्यको प्रतीक मात्रै होइन, जनताकै रगत–पसिनाबाट बनेको सम्पत्तिलाई खरानी बनाउनु हो। आक्रोश गलत दिशामा मोडिँदा पीडित फेरि जनता नै हुन्छन्, अपराधी भने झन् उम्किन्छन्। यसरी देशको सम्पत्ति नष्ट हुनु भनेको आफ्नै घर जलाउनु सरह हो।

आन्दोलनका वास्तविक परिणाम

राजनीतिक दलहरूको स्वार्थी दम्भ र अवसरवादिताले आन्दोलनलाई अझ गम्भीर बनाएको छ।

ठग, तस्कर र अपराधी लाभान्वित भए।

बलात्कार र आपराधिक घटनाका दोषीहरू सजायबाट जोगिने सम्भावना बढ्यो।

गणतन्त्रप्रतिको विश्वास कमजोर पार्ने अवस्था बन्यो।

राष्ट्रिय मुद्दा (जस्तै लिपुलेक–लिम्पियाधुरा) उपेक्षित बन्ने खतरा देखा पर्‍यो।

विदेशीलगायत यथास्थितीबादी बिस्तारबादी साम्राज्यवादी शक्तिलाई हस्तक्षेप गर्ने अवसर जुट्यो।

राष्ट्रियता र स्वाधीनताको प्रश्न

सबैभन्दा ठूलो चिन्ता भनेको, असंयमित आन्दोलनलाई कारण देखाएर विदेशी सेना वा शक्ति नेपालमा प्रवेश गर्ने सम्भावना हो। इतिहासकै धरोहर स्वाधीनतामा आँच आउन सक्ने खतराप्रति हामी सजग हुनैपर्छ। नेपालले हार्दा नेपाली जनताले मात्र होइन, सम्पूर्ण राष्ट्रले ठूलो मूल्य चुकाउनु पर्छ। त्यसैले, नेपालको सेना र जनता दुवै समयमै सचेत भई राष्ट्रियताका सवालमा एकजुट हुन जरुरी छ।

जेएनजीको आन्दोलन अन्याय, बेथिती र भ्रष्ट्राचारविरुद्धको आवाज हो, जसको औचित्य उच्च छ। तर आक्रोशको गलत प्रयोगले राष्ट्रलाई नै खरानी बनाउन सक्छ। त्यसैले आन्दोलन अझ संगठित, योजनाबद्ध र सही दिशामा हुनु अपरिहार्य छ। हामी सबै संयमित रहँदै राष्ट्रियता र स्वतन्त्रतालाई प्राथमिकता दिनु आजको सबभन्दा ठूलो आवश्यकता छ

नेपाली हामी रहौला कहा देश ने नरहे  ?

प्रतिक्रिया
सम्बन्धित समाचार