काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा सोमबार आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो ।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ ।
माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ । शीर्षनेताहरूको आकस्मिक बसेको अनौपचारिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुपुर्ने निष्कर्ष निकालेको छ । यस्तै सरकारले नरसंहार गरेको दावी गरेको छ । जेन–जी आन्दोलनका क्रममा सरकारले नरसंहारको गलत बाटो रोजेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस एमाले सरकारको बर्खास्तीको माग गर्दै ताजा जनादेशमा जानुपर्ने निष्कर्ष निकालेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भत्र्सना गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका छन् ।
सरकार विघटन गर्न राप्रपाको माग
राप्रपाले वर्तमान सरकार विघटन गर्न माग गरेको छ । सोमबार राप्रपाको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ । राप्रपाले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ ।
राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयकका पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ ।
यसैगरी नेकपा (एमाले) की केन्द्रीय सदस्यले उषाकिरण तिम्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न । प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्दछ ।’ गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। यो लगत्तै तिम्सिनाले प्रधानमन्त्री ओलीको राजिनामा मागेकी हुन् ।
यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य आजबाट समाप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. कोइरालाले सरकारले देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको उल्लेख गर्दै श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन नसक्ने बताएका छन् । जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै कोइरालाले आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भएको बताएका छन् । उनले आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको उल्लेख गर्दै सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् ।
घटना हृदयविदारक र दुःखद् ः एमाले
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।
“आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना हो”, विज्ञप्तिमा भनिएको छ । एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ । यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
त्रिविको परीक्षा स्थगित, काठमाडौँभित्रका विद्यालय २६ गतेसम्म बन्द
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो । निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले सोमबार सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले देशमा उत्पन्न असहज परिस्थितिका कारण देशभरिका सबै परीक्षा केन्द्रका परीक्षा स्थगित गर्नुपरेको बताए । स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने उनले जानकारी दिए ।
यसैबीच काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । महानगरले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।