आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

केसी पक्षको महाधिवेशनमा त्रिपक्षीय भिडन्तको तयारी : जोशी, शर्मा र शेरचन प्रतिस्पर्धी

सोमबार, भाद्र २३ २०८२

काठमाडौँ(जस)–सर्वोच्च अदालतको परमादेशअनुसार गत वैशाखमा एनआरएनएको एकता महाधिवेशन सम्पन्न भइसकेपनि बद्री केसी पक्षले भाग लिएन । नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत महेश श्रेष्ठ नेतृत्वको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आधिकारिकता पाइसकेपनि बद्री केसी पक्षले समानान्तर गतिवधि गर्न छाडेको छैन । यतिमात्रै होइन केसी पक्षले समानान्तर रुपमा अक्टोबर महिनामा एकता महाधिवेशन गर्न लागेको छ । तर, उक्त महाधिवेशनलाई रोक्न श्रेष्ठ पक्षले तयारी थालिसकेको छ । अदालतमा मुद्दा लैजानेदेखि अन्य तयारीमा श्रेष्ठ पक्ष लागेको छ । उसो त केसी पक्ष महाधिवेशन हुने÷नहुनेमै अन्योलमा देखिन्छ । केसी पक्षका एक अभियन्ताले आफूहरुले अक्टोबर ११ देखि १४ सम्म १२ औँ महाधिवेशन घोषणा गरेपनि अनिश्चित नै रहेको बताए ।
उनका अनुसार आवश्यक तयारी भने भइरहेको छ । १२ औं महाधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्त भएका छन् । एनसीसीहरुबाट ४ हजार ७२८ जना प्रतिनिधि फाइनल भएको छ भने अन्य प्राविधिक तयारी पनि जारी रहेको जनाईए पनि अदालतमा मुद्दा भएको र पररास्ट्र मन्त्रालयले सहयोग नगरेकाले निर्वाचन हुने नहुने निश्चित छैन । यसैबीचमा विवादका बिच हुने भनिएको महाधिवेशनबाट नेतृत्वको रस्साकस्सी पनि सुरु भएको छ । हालसम्म अध्यक्षमा उपाध्यक्षद्वय डा. हेमराज शर्मा, रोविन शेरचन तथा महासचिव गौरीराज जोशीले आकांक्षा देखाएका छन । तीनैजनाले अहिले आन्तरिक रणनीति समेत अघि बढाइसकेका छन् भने टीम समेत बनाउन होमवर्क थालिसकेका छन् । हेमराज शर्माले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै एनआरएनएलाई रिब्राण्डिङ गर्ने घोषणा गरेका छन् । संघको पूर्वप्रवक्ता तथा महासचिवको समेत जिम्मेवारी सम्हालिसकेका शर्माले महासचिवको बागडोर सम्हालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका थिए ।
शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्छन । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए । यस्तै अहिले उपाध्यक्ष रहेका शेरचन एनआरएनएका पूर्व आईसीसी सदस्य हुन् । लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका उनी सामाजिक, परोपकारी क्षेत्रमा पनि क्रियाशील रहेका छन् । मुस्ताङमा जन्मेका शेरचनको बाल्यकाल पोखरामा बित्यो । गण्डकी बोर्डिङ स्कुल अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका शेरचन सन् १९८८ मा जापान पुगेका थिए । ब्यवसायमा सफल रहेर लामो समय सम्म परदेशमा रहँदा नेपाल र नेपालीको निकटमा रहेर काम गरिरहेको अनुभव सुनाउदै रोबिन शेरचन बिदेशमा हासील गरेको दक्षता, सीप र रकमलाई ब्यवरस्थित गरी नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न एनआरएनए एउटा बलियो माध्यम भएको बताउँछन । इमान्दारिता र पारदर्शी तरिकाले कार्य गर्ने नेतृत्व चयन गर्न सकेमात्र संस्थालाई रुपान्तरण गर्दै पद्धति अनुरुप प्रभावकारी कार्य सकिने उनको विश्वास रहेको छ ।
यस्तै महासचिव गौरी जोशी अघिल्लो कार्यकालमै अध्यक्षमा आकांक्षी थिए । तर, आन्तरिक समीकरण मिलाउने क्रममा सफल नभएपछि अहिले भने अध्यक्षको दौडमा अघि आएका हुन् । उल्लेखित दुई उम्मेदवार भन्दा सशक्त उम्मेदार उनले आन्तरिक तयारी समेत थालिसकेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा मध्यम वर्गीय परिवारमा जन्मिएका गौरी जोशी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकीमा अहिले निकै लोकप्रिय छन् । सरल सहयोगी निडर र आत्मीयपनका धनी गौरी जोशी सबै माझ सहज रुपमा घुलमिल हुनसक्छन । सहमति, सहकार्य र एकतालाई मूल मन्त्र मान्दै उनले जहिले पनि सबैको भलो हुने गरी काम गर्न रुचाउँछन् । हरेक आपत विपत केही न केही सहयोग र सद्भाव काय राख्ने उनको फरकशैली पनि एउटा सफलता कडि मान्न सकिन्छ ।
लामो संघर्षपछि अमेरिकामा स्थापित भए जोशी । तर उनको प्रारम्भिक यात्राको गोरेटो भने सहज थिएन । काठमाडौंबाट उच्च शिक्षा गरेर उज्जवल भविष्यको खोजीमा अमेरिका भासिएका जोशीले शुरुमा जागिर, कोठा अनि पढाइका लागि निकै दौडधुप गरे । विद्यार्थी भिसामा अमेरिका पुगेका गौरीले डालासबाट आइटीमा मास्टर्स डिग्री गरे । अमेरिका आमनेपालीका लागि सपनाको संसार भएका बेला गौरीले आफ्नो भविष्यको बाटो रोजिसकेका थिए । पढाइ पुरा गर्नासाथ सन् २००० तिर उनले एउटा आइटी कम्पनीमा जागिर पाए । काम र अनुभवसँगै उनले आफ्नै आइटी कम्पनी खोले ।
भस्टीका नाम दिइएको उनको आइटी कम्पनीले बिस्तारै बजार लियो र व्यवसायमा सफलता पाउन थाले । यतिखेर डलासस्थित उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्टमध्येको एक मानिन्छ । एनआरएनएको विभिन्न पदमा रही जोशीले व्यवसायिक सफलतासँगै एनआरएन अभियानका सारथीका रूपमा आफूलाई अगाडि बढाउँदै लगे । दुई जनाबाट शुरु भएको उनको व्यवसायले हजारौंलाई रोजगार दिएको छ । भास्तिकाका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापित भइसकेका छन् । एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यवसायिक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ । जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्याँस स्टेसनलगायतमा हात हालिसकेका छन् । अमेरिकाको टेक्सासलाई आधार बनाएका जोशी व्यवसायसँगै परोपकारी कार्यमा पनि क्रियाशील छन् । अध्यक्षका प्रतिस्पर्धीमध्य अग्र स्थानमा रहेका जोशीले आफ्नो आन्तरिक तयारी गरिरहेका छन । उनी एनआरएनएलाई एक बनाएर अगाडि बढाउनुपर्छ भन्ने सिद्दान्तमा अडिग छ्न । यश अभियानमा जोशीको ठूलो योगदान रहेको अभियन्ताहरु बताउछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार