आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अल कासिम भ्रमणमा नेपाली राजदूत ढकाललाई इस्लामिक सेन्टर बुराइदाद्वारा भव्य स्वागत

शुक्रबार, भाद्र २० २०८२

अन्जान गुभाजु-रियाद,नेपाली राजदूतावास, रियादका महामहिम राजदूत नरेश विक्रम ढकाललाई उहाँको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले सेप्टेम्बर २, मङ्गलबार भव्य स्वागत गरेको छ।
इस्लामिक सेन्टरका प्रमुखहरू अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम, अबु फहद तुवैजरीको उपस्थितिमा र नेपाली विभागका सचेतक अलि हुसेनको समन्वयमा आयोजित कार्यक्रममा राजदूत ढकाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा एनआरएनए आइसिसी सदस्य विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम अध्यक्ष बिनोद खड्का, उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान, लगायत इस्लामिक युनिभर्सिटीका नेपाली विद्यार्थीहरूको समेत उपस्थिति थियो।
श्रमिक हितमा सेन्टरको प्रतिबद्धता
सचेतक अलि हुसेनले सञ्चालन गरेको कार्यक्रममा इस्लामिक सेन्टरले विगतदेखि नै समस्यामा परेका नेपाली श्रमिकलाई खान, बस्न र नेपाल फर्किने सहयोग गर्दै आएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पनि श्रमिक हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, इस्लामिक सेन्टरका सामाजिक कल्याण तथा सचेतना विभाग प्रमुख अबु फेरासले नेपाली समुदायलाई प्राथमिकतामा राखेर विभिन्न सहयोग गर्दै आएको र यसलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाजसेवी विशाल श्रेष्ठले सेन्टरको योगदानको प्रशंसा गर्दै संघ–संस्था र सेन्टरबीचको सम्बन्धलाई नङ–मासुको जस्तै बलियो भएको बताउनुभयो।
राजदूत ढकालको मन्तव्य
महामहिम राजदूत ढकालले आफ्नो मन्तव्यमा इस्लामिक सेन्टरले श्रमिक हितमा गर्दै आएका कार्यहरूको प्रशंसा गर्दै सचेतक अलि हुसेनलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले “हामी सबै मानव हौँ, मानवताका आधारमा एक–आपसमा सहयोगी भावनामा बाँचिरहनेछौँ” भन्दै दूतावासको तर्फबाट सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले सेन्टरका पदाधिकारीहरूलाई नेपाल भ्रमणको आग्रह गर्दै आवश्यक पर्दा दूतावासले सहयोग गर्ने आश्वासन पनि दिनुभयो।
कार्यक्रममा राजदूतज्यूलाई मायाको चिनो प्रदान गरियो। अतिथि मनिष कोइरालाले अल कासिम क्षेत्रमा नेपाली श्रमिकका लागि एउटा सेल्टरको माग पनि प्रस्तुत गर्नुभयो। कार्यक्रममा उपस्थित सबै महानुभावलाई इस्लामिक सेन्टरले उपहार प्रदान गरेको थियो।
आठ महिनाअघि राजदूत पदमा नियुक्त भएर रियाद आउनुभएका ढकालको यो अल कासिम क्षेत्रमा पहिलो भ्रमण रहेको र यस भव्य स्वागत कार्यक्रममा उहाँ निकै खुसी भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार