काठमाडौं(जस)–निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आफ्नो गतिविधिलाई तीव्रता दिन थालेको छ । आयोगले निर्वाचनलाई निष्पक्ष, भयरहीन र प्रभावकारी बनाउन आफ्नो कामलाई तिव्रता दिएको हो । सो मितिमा रुपन्देही–३ र मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन हुनेछ । मंगलबारमात्रै आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बरु १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगका उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ । नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ ।
यसअन्तर्गत राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने छ । निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उपनिर्वाचन हुन लागेको हो । सोही क्षेत्रमा आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।
उक्त सूचीविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । उजुरी र मनोनयनपत्रको जाँचबुझ तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न गरिनेछ । त्यसपछि असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने जनाएको छ । साथै, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोही कार्यतालिकाअनुसार रुपन्देही ३ मा पनि कार्यक्रम हुनेछ ।
यसैबीच आयोगले उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न निवेदन माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण गर्न चाहने सङ्घ संस्थाहरूसँग निवेदन माग गरेको हो । आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले १५ दिनभित्र अनुमतिका लागि आयोगमा आवश्यक कागजातसहित निवेदन दिन भनेको छ । साथै आयोगले पर्यवेक्षणका लागि निवेदन दिँदा काठमाडौँ उपत्यकाका हकमा निर्वाचन आयोग र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
प्राइमरी इलेक्सनमा राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुने आगामी प्रतिनिधिसभा उपनिर्वाचनका लागि प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले नयाँ कार्ययोजना अनुसार उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक प्रारम्भिक निर्वाचन प्रणाली (प्राइमरी इलेक्सन) लागू गर्ने निर्णय गरेको हो । यस निर्णयअनुसार रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षी उम्मेदवारमध्येबाट प्रजातान्त्रिक अभ्यास स्वरूप आन्तरिक निर्वाचन गरिनेछ ।
उक्त निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्ने आकांक्षीलाई उपनिर्वाचनको लागि आधिकारिक उम्मेदवार बनाइने र आवश्यक व्यवस्थापन रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने बताइएको छ । आन्तरिक निर्वाचनका मतदातामा रुपन्देही–३ का क्षेत्रीय, प्रदेशसभा, नगर÷गाउँपालिका, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यदेखि जिल्ला, केन्द्रीय समिति र भातृ संगठनका प्रतिनिधि तथा सक्रिय सदस्यसम्म समावेश हुनेछन् । राप्रपाले यसपटकको अभ्यासलाई पार्टीभित्र लोकतान्त्रिक परम्परा बलियो बनाउन र पारदर्शी ढंगले उम्मेदवार चयन गर्न नयाँ मोडलका रूपमा लिएको जनाएको छ ।