काठमाडौं(जस)–लामो समयदेखि करका कारण समस्यामा परेका सुनचाँदी व्यवसायीलाई सरकारको पछिल्लो निर्णयले राहत मिलेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार नयाँ व्यवस्था भएसँगै सुन तथा सुनका गरगहनामा लाग्दै आएको २ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ भने विलासिता शुल्कलाई एकै तहमा सीमित गरिएको महासचिव निरबहादुर विश्वकर्माले जानकारी दिए । आन्तरिक राजश्व विभागले ‘विलासिता शुल्क सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेसँगै नयाँ व्यवस्था २०८० साउन १ गतेदेखि नै लागू भएको महासंघले जनाएको छ । यसअघि व्यवसायीबीचको खरिद–बिक्रीमा समेत दोहोरो कर तिर्नुपरेको गुनासो थियो ।
अब भने विलासिता शुल्क उपभोक्ताबाट मात्र असुल गरिने भएको छ । उपभोक्ताले सुन फिर्ता गर्दा वा व्यवसायीबीच कारोबार गर्दा शुल्क नलाग्ने स्पष्ट गरिएको छ । त्यस्तै, मर्मतका क्रममा सुन थप नगरिए शुल्क नलाग्ने तर थप गरिएको सुनमा मात्रै शुल्क लाग्ने व्यवस्था गरिएको छ । नयाँ नियमले कारोबारलाई थप पारदर्शी बनाउन उपभोक्ताबाट सुन वा गरगहना खरिद गर्दा सरकारी परिचयपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ । विदेशबाट ल्याइने सुनमा पनि यही प्रक्रिया लागू हुनेछ । त्यस्तै, प्रत्येक कालीगढ (कारीगर) ले प्यान नम्बर लिनुपर्ने, बिल बिना कारोबार गर्न नपाइने र विलासिता शुल्क प्रत्येक महिनाको २५ गतेभित्र बुझाउनुपर्ने प्रावधान राखिएको छ ।
रत्न तथा बहुमूल्य पत्थरसम्बन्धी व्यवस्थामा पनि केही परिवर्तन गरिएको छ । अब हीरा, जवाहरात र अन्य बहुमूल्य रत्नपत्थरको पहिलो बिक्रीमा ५० लाख रुपैयाँसम्मको कारोबार भएमा भ्याट दर्ता अनिवार्य नहुने व्यवस्था गरिएको छ । महासंघका महासचिव निर बहादुर विश्वकर्मा (बिमल) का अनुसार व्यवसायीहरूको लामो संघर्ष, आन्दोलन र सरकारसँगको निरन्तर छलफलपछि मात्र यो सफलता हात लागेको हो । उनका अनुसार २०७२÷७३ सालको बजेटमार्फत सुनमा तहगत शुल्क र बहुमूल्य गहनामा उच्च कर लगाइएपछि व्यवसायी आन्दोलित भएका थिए । त्यसयता निरन्तर आन्दोलन र समन्वयपछि कर प्रणालीमा सुधार ल्याउने सहमति भएको हो ।
“यो व्यवस्थाले सुनचाँदी व्यवसायलाई सहज बनाउनुका साथै कारोबार पारदर्शी र मर्यादित बनाउनेछ,” महासचिव विश्वकर्माले भने । महासंघले सबै सदस्य संघ र व्यवसायीलाई नयाँ कार्यविधि कडाइका साथ पालना गर्न आग्रह गरेको छ । यसैबीच सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।