ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तकको आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ। ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरुबाट सामूहिक रुपमा पुस्तकको विमोचन गरिएको हो। पुस्तकमा ललितपुर शाखाका हालसम्मका १० जना अध्यक्षहरूको बायोग्राफी, पार्षद् तथा पूर्व कार्यसमितिका पदाधिकारी र सदस्यहरूको विवरण र महासंघको हालसम्मको गतिविधि समिटिएको छ ।
‘यो पुस्तकमार्फत अग्रजहरुको अभिलेखीकरण गरिएको छ’ नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले भने, ‘यो हाम्रो मार्गदर्शन गर्नेहरुप्रति सम्मान हो ।’ त्यसैले ‘इतिहास नेतृत्वको, कथा महासंघ’को विषयमा केन्द्रित रहेर पुस्तकको नाम नै ‘मार्गदर्शक’ राखिएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्वअर्थराज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य उदयशमशेर राणा, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशसभा सदस्य उर्मिला लामा, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध सदस्यहरुका यसैवर्ष एसईई र कक्षा १२ उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो।
त्यसैगरि पत्रकार महासंघ ललितपुर शाखाको संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा पत्रकार महासंघ ललितपुरको स्थापनादेखि हालसम्म नेतृत्वमा रहेका अध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचना प्रवाहलाई निरुत्साहित गर्न पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। उनले भने, “आजको डिजिटल युगले समाचार सम्प्रेषणलाई सहज र छरितो बनाएको छ। तर यससँगै गलत सूचना, भ्रम र भ्रामक प्रचार पनि समाजमा फैलिन थालेको छ। त्यसकारण सत्य र निष्पक्ष पत्रकारिता अझ बढी आवश्यक भएको छ।”
नेता राणाले पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तकले पत्रकारिता पेशाको मूल्य, जिम्मेवारी र इतिहासलाई नयाँ पुस्तामा पु¥याउने महत्त्वपूर्ण कार्य गरेकोमा प्रशंसा गरे। उनले थपे, “महासंघले विगतदेखि हालसम्मको यात्रालाई दस्तावेज बनाउन गरेको प्रयास प्रशंसनीय छ। यसले पत्रकारिता व्यवसायको गौरव बढाउने मात्र होइन, सत्य तथ्यमा आधारित पत्रकारिताको संस्कारलाई सुदृढ गर्नेछ।”
सो अवसरमा उनले सन्तनेता कृष्णप्रसाद भट्टराईको योगदानलाई स्मरण गर्दै भने, “भट्टराईज्यूले सुरु गरेको पत्रकार महासंघको इतिहासलाई आज ललितपुर शाखाले जीवन्त राख्नुभएको छ। यो काम केवल कागजमा इतिहास लेख्ने मात्र होइन, पत्रकारहरूको निरन्तरता र प्रतिबद्धताको प्रतीक हो।”
उनले पत्रकारलाई लोकतन्त्रको रक्षाकवचका रूपमा चित्रण गर्दै जिम्मेवार, सत्यनिष्ठ र पेशागत आचरणअनुरूप आफ्नो भूमिकालाई अझ सबल बनाउन आग्रह गरे। साथै, उनले सत्य सूचनाको प्रवाहलाई प्राथमिकता दिनुपर्ने र गलत सूचना वा भ्रामक प्रचारलाई निरुत्साहित गर्ने प्रतिबद्धतामा सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका अवसरमा बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ उर्मिला लामाले महासंघले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तकले इतिहासको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले भनिन्, “पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको पुस्तक केवल कागजमा लेखिएका अक्षर मात्र होइनन्, यसले विगतका सङ्घर्ष, योगदान र अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने जीवित दस्तावेजको भूमिका खेल्नेछ।”
नेतृ लामाले संस्थागत स्मृतिको संरक्षणले भविष्यको मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार यस्तो प्रकारका कृतिहरूले पत्रकारिता क्षेत्रमा लागेका नयाँ पुस्तालाई प्रेरणा दिने मात्र होइन, इतिहास बुझ्न, वर्तमानलाई विश्लेषण गर्न र भविष्यलाई सही दिशा दिन आधारशिला हुनेछन्।
त्यसैगरी, उनले कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा अझ मेहनती, प्रतिबद्ध र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “आज सम्मानित हुनुभएको तपाईँहरूको सफलता केवल व्यक्तिगत मात्र नभई परिवार, विद्यालय र समाजकै गर्व हो। तपाईँहरूको उज्ज्वल भविष्य हाम्रो साझा आशा हो।”
उनले अभिभावक र शिक्षकलाई पनि धन्यवाद दिँदै विद्यार्थीको सफलतामा उनीहरूको योगदान अविस्मरणीय हुने उल्लेख गरिन्। समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको ठूलो महत्व हुने भन्दै उनले विद्यार्थीलाई अध्ययनसँगै संस्कार र मूल्यप्रति आस्थावान् रहन आग्रह गरिन्।
कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको ललितपुर शाखा काठमाडौँ उपत्यकाको उत्कृष्ट शाखाको रुपमा स्थापित भएको बताइन्। उनले अनलाइन पत्रपत्रिका दर्ता सम्बन्धमा देखिएका समस्या समाधानका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिइन्।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुरको पत्रकारिताको इतिहासलाई समेटेर पुस्तक प्रकाशन गरेकोमा महासंघ ललितपुर शाखालाई धन्यवाद दिए।