आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पार्टीमा गुटबन्दी हुन नदिने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

बुधबार, भाद्र ११ २०८२

काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशको बुधबार भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्,’ उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’
प्रचण्डले देशभरका पालिकाहरूमा भएका संघर्ष, बलिदान र ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकृत गर्न आग्रह गरे । ‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’ उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर संकलन गरियो भने ठूलो ऐतिहासिक सामग्री बन्न सक्छ ।’ उनले पार्टी, विचारधारा वा संगठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न लेखक, साहित्यकार, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार