काठमाडौँ(जस)–वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यसैगरी वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेशनाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभा मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धनबहादुर राई रहेका छन् ।
पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूले उजुरी गरेका थिए । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।