काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान व्याख्या समितिको संयोजकमा बेलायत निवासी सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
एनआरएनएको हालै बसेको बैठकले उनलाई विधान व्याख्या समितिको संयोजक चयन गरेको हो । बेलायत निवासी श्रेष्ठ कानुनको ज्ञाता मानिन्छन् ।
गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि सक्रिय रहेर बेलायतको विभिन्न जिम्मेवारी लिँदै एनआरएनएको विभिन्न टास्कफोर्सहरुमा काम गरेका श्रेष्ठले नागरिकताको निरन्तरता सम्बन्धमा लेखहरू प्रकाशित गर्नुका साथै विगतमा सर्वोच्च अदालतमा समेत मुद्दा हालेका थिए ।
यस्तै सोही समितिको सदस्यमा एनआरएनए अभियन्ताहरू केशव कँडेल र डा नारायण कँडेल चयन भएको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
समितिले विधानको सम्बन्धमा आवश्यक व्याख्या गर्दै संघको उद्देश्य र कार्यलाई थप प्रभावकारी बनाउने विश्वास एनआरएनएले लिएको छ ।
गत वैशाखमा एनआरएनएको एकता महाधिवेशन भएसँगै श्रेष्ठले महेश श्रेष्ठ नेतृत्वको कमिटीलाई आवश्यक सल्लाह सुझाव दिँदै आएका छन् । यही क्रममा विधानका सम्बन्धमा आवश्यक व्याख्यासहित समयानुकूल बनाउन उनको भूमिका विशेष रहने बताइएको छ ।
महेश श्रेष्ठले एनआरएनए अभियानमा परराष्ट्र मन्त्रालयबाट आधिकारिकता पाएसँगै आफ्नो गतिविधिलाई तीव्र पारेका छन् । उनले नागरिकतासहित एनआरएनएका विभिन्न विषयमा सरकारसँग लबिङका साथै एनआरएनएमैत्री एन निर्माणमा जोड दिँदै आएका छन् ।
तैपनि एनआरएनएकै बद्री केसी समूह समानान्तर गतिविधिले श्रेष्ठलाई चुनौती भने छ । एनआरएनएका कैयन विषयमा रहेको विवादमा हाल सर्वोच्चमा मुद्दा विचाराधीन भने रहेको छ। यद्यपि अहिलेको अवस्था थप आदेश नभएकाले श्रेष्ठ नै आधिकारिक हुन् । उसो त बद्री केसी समूहले अक्टोबरमा महाधिवेशन गर्न लागेको भनिए पनि त्यसको कानुनी आधार नै नदेखिने श्रेष्ठले बताउँदै आएका छन् ।