काठमाडौं(जस)–नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै गरेको अभिव्यक्तिलाई लक्षित गर्दै धारणा सार्वजनिक गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रचण्डमाथि प्रश्न उठाएका हुन् । हालै प्रचण्डले आफूले राजनीति वा पद छोडेमा ‘सबै गल्र्यामगुर्लुम ढल्ने हो कि भन्ने लाग्छ’ भन्ने टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डको अभिव्यक्ति प्रतिवाद गर्दै राजनीतिक बहसलाई व्यक्ति केन्द्रित नभई विचार केन्द्रित बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘पुस्तान्तरण हुनु त पर्छ तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । राजावादीहरूले त नातिलाई समातेर जुम्ला घुमाए नि । त्यस्तो पुस्तान्तरण होइन, नयाँ विचारसहितको नयाँ पुस्ता चाहिन्छ ।’ भट्टराईले वर्तमान अवस्थामा विचारविहीन नेतृत्व पुस्ता उत्पन्न भएको भन्दै नेपाललाई अगाडि बढाउन ‘लेफ्ट अफ सेन्टर’ खालको प्रगतिशील, लोकतान्त्रिक शक्ति अपरिहार्य भएको बताए । उनले नेपाल जस्तो भूराजनीतिक चेपुवामा परेको, विविधतायुक्त र सामाजिक–आर्थिक रूपमा पछाडि परेको देशलाई अघि बढाउन छिटो आर्थिक विकास, सामाजिक न्याय र राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरे ।
‘वैचारिक राजनीतिक शक्तिको विकल्प छैन,’ भट्टराईले भने, ’समान न्यायको प्रत्याभूति दिलाउने दिशामा नयाँ पुस्ताले अगुवाइ गर्नुपर्छ ।’ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कुनै दल वा नेताले राजनीति छोडेपछि देशै डगमगाउने जस्तो ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरे । उनले भने, ’नेपालमा कुनै दलका नेता भन्नुहुन्छ, मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लुम हुन्छ जस्तो लाग्छ । पृथ्वी नै बोकेको जस्तो के छ ? त्यस्तो के जाने हो थाहा छैन ।’ रिजालले दलमा पुस्तान्तरण नहुने मानसिकता गहिरो भएको उल्लेख गर्दै राजनीतिमा पुस्तान्तरण नभई नेतृत्व क्षमता महत्त्वपूर्ण हुने तर्क गरे । ’पुस्तान्तरण भन्ने कुरा त राजतन्त्रमा मात्रै हुन्छ,’ उनले भने, ’राजनीतिमा पुस्तान्तरण हुँदैन, जसले सक्छ, त्यसले नेतृत्व लिन्छ ।’
रिजालले आफ्नै दल नेपाली कांग्रेसतर्फ पनि संकेत गर्दै ’धुलो, तुवाँलो लागेको छ, पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ’ भन्दै आत्मआलोचना गरे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई लक्षित गर्दै उनले दिएको ‘पृथ्वी बोकेको’ सन्दर्भलाई दन्त्यकथासँग तुलना गरे । ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । त्यो त दन्त्यकथा हो,’ उनले भने, ’शेषनागले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा आज विज्ञानले असत्य साबित गरिसकेको छ । यस कारणले पृथ्वी चल्छ, केही ढल्दैन ।’
शर्माले पछिल्लो समय संसद्मा देखिएका समस्या र आचरणप्रति पनि असन्तुष्टि जनाए । उनले संविधानका उपलब्धिहरू जनताले प्रत्यक्ष उपभोग गर्न नसकेको स्वीकारोक्ति गर्दै संसद्को भूमिकामै प्रश्न उठाए । ‘अन्तरिम कालदेखि म संसद्मा निरन्तर छु,’ उनले भने, ’तर पछिल्लो समय कानुन चोरी हुने संसद्मा किन आइएछ भन्ने आत्मग्लानि हुन्छ ।’ देशको अर्थतन्त्रबारे निरन्तर बहस आवश्यक रहेको उल्लेख गर्दै उनले कम्तीमा १५ दिनसम्म निरन्तर अर्थतन्त्रबारे बहस गर्नुपर्नेमा जोड दिए । यी भिव्यक्तिहरूले देशको राजनीतिक अभ्यासमा विचारसहितको नेतृत्व, संस्थागत पुस्तान्तरण र वैचारिक बहसको आवश्यकता अझै तीब्र बनेको कतिपयको भनाइ छ ।