शुक्रबार, भाद्र ६ २०८२
खगेन्द्र छन्त्याल
बुर्जुवा पार्टीहरुको लक्ष्य,उद्देश्य यथास्थितिमा रम्नु हो । विद्यमान प्रतिक्रियावादी व्यवस्था परिवर्तनका योजनासँग उनीहरुको कुनै साइनो सम्बन्ध हुँदैन । बढीभन्दा बढी उनीहरुको योजना विद्यमान प्रतिक्रियावादी व्यवस्थाको दायराभित्रै रहेर मुट्ठीभर मान्छेका अवस्था परिवर्तन गर्नु हो । अझ प्रस्टसँग भन्नुपर्दा बुर्जुवापार्टीहरु विद्यमान प्रतिक्रियावादी व्यवस्थाको रक्षाकवच हुन् । किनकि तिनको जन्म नै ती राज्यव्यवस्थाका रक्षाको निम्ति भएको हो । त्यसैले विद्यमान प्रतिक्रियावादी व्यवस्था परिवर्तन गरेर देश, जनता र समाजको अवस्थामा आमूल परिवर्तन गर्ने ती पार्टीहरुको कुनै लक्ष्य, उद्देश्य, सपना, योजना हुँदैनन् । जब यसप्रकारका लक्ष्य, उद्देश्य, सपना योजना हुँदैनन्, तब स्वभाविकै रुपले ती पार्टीहरुमा आमूल परिवर्तनकारी चिन्तन, सोंच, विचार, दृष्टिकोण, समर्पण, त्याग, बलिदानको कुनै आवश्यकतानै हुँदैन । जहाँ यी चीजहरुको आवश्यकता हुँदैन, त्यहाँ पार्टी र मुख्य नेतृत्व एउटा सामान्य कुरा हुन्छ । अर्थात्, अब अगाडि आमूल परिवर्तनका निम्ति ठुल्ठूला त्याग र बलिदानपूर्ण ढङ्गले गर्नुपर्ने काम नै केही छैनभने त्यहाँ पार्टी र पार्टीका अन्य नेता÷कार्यकर्ता जस्तै मुख्य नेतृत्वपनि सामान्य चीज बन्नु अनौठो कुरा होइन ।
त्यसकारण ती पार्टीहरुमा मुख्य नेतृत्व परिवर्तनका कुरा सामान्य मानिन्छन् । त्यहाँ (ती पार्टीहरुमा) नेतृत्वमा पुग्नुलाई सुख, सुविधा ऐस, आराम र विभिन्न व्यक्तिगत अवसर प्राप्तिको माध्यमको रूपमा हेरिन्छ । बुर्जुवा पार्टीहरुको धरातलमा उभिएर हेर्दा यो अस्वाभाविक पनि होइन । किनकि मुट्ठीभर व्यक्तिहरुको हकहितको संरक्षण गर्ने प्रतिक्रियावादी व्यवस्था परिवर्तन गरेर त्यसमार्फत देश र आमजनताको अवस्था परिवर्तन गर्ने कुनै सपना र योजना छैनभने त्यो स्थितिमा व्यक्तिले आफ्नो व्यक्तिगत अवस्था परिवर्तनको अवसर खोज्नु बिल्कुल स्वाभाविक हो । त्यसैले ती पार्टीहरुमा भागबण्डाको निम्ति, आलोपालोको निम्ति नै मुख्य नेतृत्व परिवर्तनका मुद्दा उठ्ने गर्दछन् र कहिलेकाहीँ त्यहाँ उमेरहदका कुरा र ‘रिटायर्ड लाइफ’ का कुराहरुपनि उठ्ने गर्दछन् । नीतिगत रुपमा नै बुर्जुवा पार्टीहरुको नेता, कार्यकर्ताले सामन्तवादको अन्त्य र पुँजीवादको स्थापना पश्चात् अब यहाँदेखि अगिजाने ठाउँँ नै छैन । सबै प्राप्त भैसक्यो अब खाऊँ, लाऊँ, रमाऊँ र मोज मस्ती गर । त्यसका निम्ति हरेक ठाउँमा भागबण्डा गर, हरेक ठाउँमा आलोपालो गर भन्ने मान्यता राख्दछन् र सोहीअनुरुप गर्दछन् । यदि त्यसो गरिएन वा भएनभने त्यहाँ नोकरशाहको जन्म हुन्छ र निरङ्कुशता लादिन्छ या अराजकता पैदा हुन्छ तथा भाँडभैलो मच्चिन्छ । तर कम्युनिस्ट पार्टीमा त्यस्तो हुँदैन र हुनुपनि हुँदैन ।
यदि कुनै कम्युनिस्ट पार्टी र कुनै कम्युनिस्ट नेता तथा कार्यकर्ताले पार्टीभित्र त्यसप्रकारको कुरा अर्थात् नेतृत्वको भागबण्डाको कुरा, आलोपालोका कुरा, उमेर हदका कुरा र ‘रिटायर्ड लाइफ’ को कुरा गर्दछ भने अब सोच्नुपर्दछ कि उक्त पार्टी र व्यक्ति असली कम्युनिस्ट हो वा होइन ? किनकि कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य भनेको विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पारेर त्यसको ठाउँँमा वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नु हो । के कुरा सत्य हो भने विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई ध्वंस गरेर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नु सामान्य कुरा होइन । यसका निम्ति सामान्य सङ्गठन, सामान्य आन्दोलन र सामान्य नेता तथा कार्यकताले हुँदैन । यसका निम्ति जनतासँग जोडिएको जुझारु र अनुशासित सङ्गठन, सशक्त आन्दोलन र विशेष धातुले बनेका नेता तथा कार्यकर्ताका साथै, ठुल्ठूला त्याग, बलिदान र समर्पणको आवश्यकता पर्दछ । त्यसका निम्ति मान्छेले एक होइन, कैयौँ पुस्ताको आयु बराबरको समय लगानी गर्नुपर्दछ । तर जस्तोसुकै त्याग र बलिदान गरेर नै पनि, जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरेर नै पनि, जतिसुकै समय खर्चेर नै पनि आफ्नो लक्ष्य, उद्देश्य प्राप्त गर्न निरन्तर अगि बढ्नु कम्युनिस्ट पार्टी र त्यसका असल नेता तथा कार्यकर्ताको कर्तव्य हो ।
अर्को शब्दमा उल्लेख गर्नुपर्दा, कम्युनिस्ट आन्दोलन भनेको संसारभर वैज्ञानिक साम्यवादको स्थापना नहुँदासम्म कहिल्यै नरुक्ने, कहिल्यै नझुक्ने, कहिल्यै नथाक्ने, कहिल्यै नसुस्ताउने र कहिल्यै नअस्ताउने आन्दोलन हो । अवश्यपनि त्यसप्रकारको आन्दोलनको नेतृत्व गर्ने सङ्गठन अर्थात् कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व व्यक्ति होइन, त्यो त एक संस्था हो । त्यो संस्था एकाएक आकाशबाट फ्वात्त खसेको र धर्तीबाट फुत्त निक्लेकोचीज होइन । त्यो त हजारौँ, लाखौँ नेता तथा कार्यकर्ताहरुको अत्यन्तै लामो समयदेखिको अथक परिश्रम, मिहिनेत, त्याग र बलिदानबाट निर्मित एक महत्वपूर्ण संस्था हो । तसर्थ, त्यसको परिवर्तन टोपी परिवर्तन गरे जस्तो सामान्य कुरा हुन सक्दैन । पार्टी र क्रान्तिले आवश्यकता महसुश गरुन्जेल उक्त नेतृत्वले निरन्तरता पाइरहन्छ, पाइरहनु पर्दछ ।
यसको मतलव कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व अपरिवर्तनीय हुन्छ भन्ने बुझ्नुपनि सही हुँदैन । पार्टी र क्रान्तिको आवश्यकतामा कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व परिवर्तन भैरहन्छ । मुख्य नेतृत्वको मृत्यु भएमा, दुस्मनको कब्जामा परेमा, उमेर, बिमार या कुनै कारण अत्यन्तै अशक्त भएमा, आफ्नो वर्गप्रतिको निष्ठा र आस्थामा ह्रास आएमा, पार्टीको लक्ष्य तथा उद्देश्यप्रतिको इमानदारितामा शङ्का देखिएमा, सिद्धान्तप्रति दृढ नरहेमा, विचार दृष्टिकोणमा विचलन देखिएमा, आवश्यक तथा पर्याप्त क्षमता, क्रियाशीलता, कुशलता र गतिशीलता नदेखिएमा वा सिङ्गो पार्टी र मुख्य नेतृत्वकै विशेष पहलमा हरेक दृष्टिकोणले झनै सक्षम र झनै सुयोग्य उत्तराधिकारी निर्माण भइसकेको अवस्थामा कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तन गर्न सकिन्छ ।
तर विद्यमान मुख्य नेतृत्व जनताकाबिच हुँदाहुँदै, शारीरिक रूपमा तन्दुरुस्त रहँदारहँदै, आफ्नो वर्गप्रति प्रतिवद्ध हुँदाहुँदै, लक्ष्य र उद्देश्यप्रति इमानदार हुँदाहुँदै, सिद्धान्तमा दृढ हुँदाहुँदै, क्षमता, क्रियाशीलता, कुशलता र गतिशीलता राम्रो हुँदाहुँदै अथवा पार्टी र मुख्य नेतृत्वको संरक्षकत्वमा सुयोग्य उत्तराधिकारी निर्माण नभइरहेको अवस्थामा कसैको तुच्छ चाहना पूरा गर्नका निम्ति कसैसँग भागबण्डाका निम्ति, कसैको आलोपालोका निम्ति र कसैको ‘रिटायर्ड लाइफ’ को निम्ति कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तन हुँदैन, हुनपनि सक्दैन । यस्तो अवस्थामा अनायास नेतृत्व परिवर्तनको बारेमा बहस चलाउनु र मुख्य नेतृत्व परिवर्तनको दुस्साहस गर्नु भनेको कम्युनिस्ट पार्टीलाई अस्थिरताको भुँमरीतिर धकेल्नु हो, बर्बाद गर्नु हो ।
कम्युनिस्ट पार्टीको सदस्यले पुँजीवादी, प्रतिक्रियावादी राज्यव्यवस्था अन्तर्गतकापनि सत्ता र शक्तिको दुरुपयोग गरेर अनावश्यक तडक भडक र मोजमस्ती गर्नु पार्टी र आन्दोलनप्रति गद्दारी हो । त्यसको अलावा प्रतिक्रियावादी सत्ताको सरकारमा सहभागी हुँदैमा वा आफ्नो देशमा नयाँजनवाद, समाजवाद स्थापना गरेर मात्र सन्तुष्टि लिनु पनि कम्युनिस्ट पार्टीको सदस्यको निम्ति नैतिक रूपमा राम्रो होइन । किनकि कम्युनिस्ट पार्टीको सदस्यको काम संसारभरका सर्वहारावर्गको मुक्तिको निम्ति समर्पित हुनु हो ।
त्यसकारण, पार्टीसदस्यता प्राप्त गरेदेखि संसारमा वैज्ञानिक साम्यवाद स्थापना नहुँदासम्म आन्दोलनमा निरन्तर सक्रिय सहभागी हुनु कम्युनिस्ट पार्टीको हरेक सदस्यको कर्तव्य हो । वैज्ञानिक साम्यवादमा कुनैपनि सरकारी वा गैरसरकारी निकाय, सङ्घ, संस्था, राजनीतिक पार्टी र राज्यसत्ता अनावश्यक हुन्छन् । त्यसकारण वैज्ञानिक साम्यवादको स्थापनापश्चात् कम्युनिस्ट पार्टी सहित कुनैपनि राजनीतिक पार्टी मात्र होइन जनता माथि शासन गर्ने राज्यसत्ताका कुनैपनि अङ्गहरु स्वतः विघटन हुन्छन् । हो, त्यति बेलामात्र एउटा असल कम्युनिस्ट सन्तुष्ट हुनसक्दछ किनकि त्यति बेला राज्यसत्ताको नामबाट वा अन्य कुनैपनि व्यक्ति, संस्था वा निकायको नामबाट मान्छेले मान्छेमाथि गर्ने विभेद, अन्याय, अत्याचार, शोषण र दमन संसारबाट नै अन्त्य भइसकेको हुन्छ ।
तसर्थ, निरन्तर अनन्त सम्म चल्ने आन्दोलनको नेतृत्वगर्ने सङ्गठन अर्थात् कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तनको विषय कसैको व्यक्तिगत चाहनाको चीज होइन । कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा कसैले चाहँदैमा आउँने र कसैले चाहँदैमा छोड्ने र जाने स्थिति हुँदैन । त्यहाँ सिङ्गो पार्टी र क्रान्तिको आवश्यकतामा मुख्य नेतृत्वमा आउने, छोड्ने र जाने काम हुन्छ । कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा को कति समयको निम्ति आउँने र रहने ? कुन उमेरदेखि कुन उमेरसम्म मुख्य नेतृत्वमा रहने ? भन्ने प्रश्न मुख्य होइन कति समय, कसको नेतृत्व पार्टी र क्रान्तिलाई आवश्यक छ ? यो मुख्य प्रश्न हो । किनकि संसारमा क्रान्ति सम्पन्न भएका, क्रान्ति सम्पन्नउन्मुख रहेका र क्रान्तिको निम्ति निरन्तर अगि बढिरहेका सबै कम्युनिस्ट पार्टीहरुतिर हामीले फर्केर हे¥यौँभने त्यही देख्छौँ ।
लेनिन, स्टालिन, माओ र किम ईल सुङ क्रान्तिको आँधीबेहेरीकाबिच पार्टी र क्रान्तिको आवश्यकतामा पार्टीको मुख्य नेतृत्वमा आउनुभयो । उहाँहरुले आफ्ना देशमा समाजवादी र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नकानिम्ति मुख्य भूमिका निर्वाह गर्नुभयो र आफू अशक्त नहुन्जेल नेतृत्वमा रहिरहनुभयो । त्यो उहाँहरुको व्यक्तिगत रहरको विषय मात्र पनि थिएन त्यो त तत्कालीन सोभियत सङ्घ, कोरिया र चिनियाँ क्रान्तिको रक्षाका निम्ति र विश्वक्रान्तिको पहलका निम्ति आवश्यकता थियो । नेपालको वा विश्वका अन्य सबै मुलुकका वास्तविक कम्युनिस्ट पार्टीहरु र तिनका मुख्य नेतृत्वहरुको हकमा पनि यही कुरा सत्य हो । आफ्नो देशको क्रान्ति सम्पन्न गर्नकानिम्ति, सम्पन्न भएको क्रान्तिको रक्षा गर्नककानिम्ति र संसारभरका उत्पीडित जनताहरुको मुक्तिका खातिर विश्वक्रान्तिमा महत्वपूर्ण योगदान दिनकानिम्ति क्रान्तिका कैयौँ भट्टीहरुमा खारिएर स्पात बनेर आएका सुयोग्य, सक्षम, सवल र अनुभवी नेतृत्व पार्टीमा निरन्तर आवश्यक रहिरहन्छ । त्यसप्रकारका मुख्य नेतृत्वको बारेमा उठेका परिवर्तनको कुराहरु वाहियात र बकवास सिवाय अरु केही हुन सक्दैनन ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij