बिहिबार, भाद्र ५ २०८२
आजको युगमा आर्थिक प्रणाली दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । सूचना प्रविधिको तीव्र विकास र विश्वव्यापीकरणका कारण मानिसहरुको जीवनशैलीमा आमूल परिवर्तन आएको छ । यस्तो अवस्थामा व्यक्तिहरुले आफ्नो दैनिक जीवनमा वित्तीय निर्णयहरु सजगतापूर्वक लिन सक्नु, आफ्ना आम्दानी–खर्च सन्तुलनमा राख्न सक्नु, लगानीको सही माध्यम छनोट गर्न सक्नु, ऋण, बचत, बीमा तथा कर व्यवस्थापनको बारेमा स्पष्ट जानकारी राख्न सक्नु अत्यावश्यक छ । यी सबै पक्षमा जानकार हुनु नै बितीय साक्षरता हो । यसले व्यक्ति, परिवार, समुदाय र सम्पूर्ण राष्ट्रको आर्थिक स्थायित्वमा सघाउ पु¥याउने गर्छ । आर्थिक स्वावलम्बन, गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा र दीगो विकासको मेरुदण्डका रुपमा बितीय साक्षरताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले आजको युगमा बितीय साक्षरता केवल विकल्प नभई आवश्यकता बनेको छ ।

वितीय साक्षरता भन्नाले व्यक्तिले वित्तसम्बन्धी जानकारी प्राप्त गरी त्यसलाई व्यवहारमा लागू गर्ने सीप, बानी र प्रवृत्तिको विकास गर्नु हो । जस्तैः बैंकिङ प्रणालीको उपयोग, डिजिटल भुक्तानी माध्यमको प्रयोग, कर्जाको बुद्धिमानी व्यवस्थापन, बीमा र लगानी सम्बन्धी निर्णय क्षमता, आर्थिक योजना र लक्ष्य निर्धारण आदि यसमा पर्छन् । मानिसले राम्रो आम्दानी गरे पनि यदि उसले वित्तीय व्यवस्थापन गर्न सकेन भने त्यो आय दीर्घकालीन रुपमा उपयोगी बन्न सक्दैन । उदाहरणका लागि, धेरैजसो कामदार वर्ग, विदेशिएका युवाहरु वा साना व्यवसायीहरु आम्दानी त गर्छन्, तर खर्च नियन्त्रण, बचत योजना, लगानीको विकल्प आदि बारे जानकारी नहुँदा उनीहरुको आर्थिक उन्नति स्थायी बन्न सक्दैन । यसैले वित्तीय साक्षरताको अभावले जीवनभरको श्रम पनि व्यर्थ जान सक्छ ।
विज्ञान र प्रविधिले फड्को मार्दै गरेको नेपालजस्तो विकासोन्मुख देशमा बितीय साक्षरताको अवस्थालाई हेर्दा अझ चिन्ताजनक छ । ग्रामीण भेगका धेरै नागरिकहरु अझै पनि बैंक तथा वित्तीय संस्थाबाट टाढा छन् । उनीहरु दैनिक आर्थिक कारोबार नगदमा सीमित छ, जसले पारदर्शिता, सुरक्षा तथा दीर्घकालीन वित्तीय योजना विहीनता निम्त्याउँछ । धेरैजसो मानिसहरूले ऋणको सदुपयोगभन्दा दुरुपयोग गर्छन्, बीमा प्रणालीप्रति विश्वास छैन, शेयर बजार, म्युचुअल फण्डजस्ता लगानी विकल्पहरुबारे जानकारी छैन । यसै्गरी डिजिटल वित्तीय सेवा प्रयोगमा पनि डर, भ्रम वा जानकारीको कमी देखिन्छ । यस्तो अवस्थाले न केवल व्यक्तिगत वित्तीय सुरक्षामा असर गर्छ, यसले राष्ट्रिय स्तरमा समेत वित्तीय समावेशीकरणलाई कमजोर बनाउँछ ।
बितीय साक्षरताको आवश्यकता झनै तीव्र रुपमा अनुभव गरिएको सन्दर्भ भनेको कोभिड–१९ महामारीको समयमा हो । महामारीले आम जनताको आय–आर्जनमा ठुलो धक्का पु¥याएको थियो । धेरैले अकस्मात रोजगारी गुमाए, कतिपयले आकस्मिक खर्च थेग्न सकेनन् । यस्तो अवस्थामा जसको खर्च र बचत सन्तुलित थियो, जसले स्वास्थ्य बीमा लिएका थिए, जसले विभिन्न आयका स्रोतहरु बनाएका थिए, उनीहरु तुलनात्मक रुपमा सुरक्षित देखिए । महामारीको अनुभवले भविष्यको अनिश्चितताप्रति तयारी आवश्यक रहेको कुरालाई झन प्रष्ट बनाएको छ । र, त्यसका लागि बितीय साक्षरता अपरिहार्य छ ।
आजको डिजिटल युगमा बितीय साक्षरतासँगै डिजिटल वित्तीय साक्षरताको पनि माग बढेको छ । क्यूआर कोडबाट कारोबार, मोबाइल वालेट, अनलाइन बैंकिङ, क्रिप्टो करेसी, डिजिटल शेयर ट्रेडिङ जस्ता प्रविधिमूलक माध्यमहरु दैनिक जीवनमा प्रवेश गरिसकेका छन् । तर, यसको सदुपयोग गर्न नसके जोखिम पनि उत्तिकै हुन्छ । साइबर ठगी, पासवर्ड सुरक्षाको कमजोरी, डेटा गोपनीयता हनन जस्ता समस्याहरुमा अनविज्ञता प्रस्ट देखिन्छ । त्यसैले, वित्तीय साक्षरताका साथै प्रविधिमा आधारित वित्तीय ज्ञान पनि आजको आवश्यकता हो । यसले नागरिकलाई डिजिटल कारोबारमा सजग, सुरक्षित र सक्षम बनाउँछ । यही कुरालाई मनन गरेर नेपाल सरकारले कक्षा ११ र १२ को पाठ्यक्रममा यी विषयहरु समेटेको छ ।
वितीय साक्षरता नभएको खण्डमा विभिन्न सामाजिक–आर्थिक समस्याहरु निम्तिन्छन् । उदाहरणका लागि, व्यक्तिहरु ऋणको सहि मूल्याङ्कन नगरी आकर्षक प्रस्तावमा फस्छन्, जसले पछि ऋणको चक्रव्यूह सिर्जना गर्छ । कतिपयले नाजुक अवस्थाको सोच नगरी सबै पैसा खर्च गर्छन्, कतिपय जालसाजीमा पर्न सक्छन् । यसले आर्थिक अस्थिरता मात्र होइन, मानसिक तनाव र पारिवारिक कलहसमेत निम्त्याउँछ । आर्थिक सचेतनाको अभावले विपन्नता स्थायी बन्न सक्छ । त्यसैले बितीय साक्षरताले मात्र व्यक्तिलाई आफ्ना आर्थिक निर्णयहरुमा सजग र दीर्घकालीन सोच राख्न सक्षम बनाउँछ ।
सरकार, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुको साझा प्रयासमा बितीय साक्षरताको विकास गर्न सकिन्छ । विद्यालय र क्याम्पस तहमा वित्तीय शिक्षालाई अनिवार्य विषयको रुपमा समावेश गर्न सकिन्छ । बैंकहरुले आफ्ना ग्राहकहरुलाई नियमित वित्तीय साक्षरतामूलक तालिम दिन सक्छन् । साथै, महिला, किसान, साना उद्यमीहरु, वैदेशिक रोजगारीमा जानेहरु, अवकाशप्राप्त कर्मचारीहरू, छात्रछात्रा जस्ता लक्षित समूहहरुलाई केन्द्रित गरी विशिष्ट कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा मोबाइल एप्समार्फत समेत वित्तीय साक्षरता विस्तार सम्भव छ । यस्ता प्रयासहरुले आम नागरिकमा आर्थिक व्यवहारप्रतिको सजगता बढाउनेछ ।
बितीय साक्षरताको प्रवद्र्धनले देशको अर्थतन्त्रलाई दीर्घकालीन रुपमा लाभ दिन्छ । व्यक्तिहरुले सही तरिकाले बचत र लगानी गर्दा पूँजी संकलन सहज हुन्छ, जसले आर्थिक वृद्धिमा टेवा पु¥याउँछ । मानिसहरुले कर प्रणाली बुझ्न थाल्छन्, जसले राज्यको राजस्व प्रणाली सुधार्छ । बीमा प्रणालीको विस्तारले सामाजिक सुरक्षालाई मजबुत बनाउँछ । ऋणको उचित प्रयोगले उद्यमशीलता बढाउँछ । यसरी, वित्तीय साक्षरताले समग्र आर्थिक विकासलाई गति दिन्छ । विशेष गरी, नेपालको सन्दर्भमा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको प्रभावकारी प्रयोगका लागि पनि वित्तीय साक्षरता अपरिहार्य देखिन्छ ।
अन्ततः बितीय साक्षरताको आवश्यकता केवल सैद्धान्तिक छलफलको विषय होइन, यो व्यवहारमा लागू गर्नुपर्ने अनिवार्य सीप हो । जसरी अक्षर साक्षरताले व्यक्तिलाई पढ्न, लेख्न सक्षम बनाउँछ, त्यसरी नै वित्तीय साक्षरताले उसलाई आर्थिक निर्णयहरुमा सक्षम बनाउँछ । व्यक्तिगत, पारिवारिक र राष्ट्रिय समृद्धिको आधार नै वितीय साक्षरता भएकाले यसलाई नीति निर्माणदेखि व्यवहारिक तहसम्म प्राथमिकताका साथ लागू गर्नु आजको अपरिहार्यता हो । यसको अभावमा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ भन्ने राष्ट्रिय नाराको पूर्णता सम्भव छैन । त्यसैले, वितीय साक्षरताको विकास नै सशक्त, सुरक्षित र समृद्ध भविष्यको पहिलो सिँढी हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij