तिलोचन गौतम
क्वालालम्पुर, मलेसिया । मलेसियामा मृत्यु भएका इलाम फाक्फोकथुम गाउपालिका ४ डम्बर कुमार मगरको शव मलेसियामै जनउद्वार केन्द्र मलेसियाले अन्तिम दाहसंस्कार गरिदिएको छ ।
मृतक डम्बर कुमार बिगत १३ वर्षदेखि मलेसियामा अवैधानिक हैसियतमा कार्यरत थिए । आफन्तहरु मार्फत शव फिर्ता गराउन गराउने खर्च बेहोर्न नसक्ने भन्दै परिवार र आफन्तले मलेसियामै दाहसंस्कार गरिदिन अपिल गरेपछि जनउद्वार केन्द्र मलेसियाले आज बिहान परम्परा अनुसार दाहसंस्कार गरेको हो ।
मृतक डम्बर कुमार परिवारसँग कहिलेकाहिँ मात्रै सम्पर्कमा रहने गरेका थिए । परिवारका अनुसार उनी उच्च रक्तचाप र सुगर रोगबाट ग्रसित थिए। उनको उपचारका क्रममा पेनाङ हस्पिटलमा गत जुलाइ ३१ तारिखमा मृत्यु भएको थियो।
उनको परिवारमा श्रीमती २ छोरी र १ छोरा छन् । जनउद्वार केन्द्रका अध्यक्ष केसु थापाका अनुसार भोलि नै मृतकको अस्तु समुन्द्रमा बगाइदिने र अन्तिम दाहसंस्कार गरिदिने बताए ।
जनउद्वार केन्द्र मलेसिया पहिलोपटक दर्ता भएको नेपाली बैधानिक सामाजिक संस्था हो। यसले थुप्रै जेल डिटेन्सन (घर्फिर्ती केन्द्र) मा रहेका नेपाली तथा विभिन्न समस्यामा परेका नेपालीहरुलाई उद्वार तथा सहयोग गर्दै आइरहेको छ ।