शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

महाधिवेशन ढिला भए पार्टीसँगै देश नै कमजोर हुन्छ : डा.कोइराला

शनिबार, साउन ३१ २०८२

काठमाडौं(जस)–नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’ नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि देशमा भ्रष्टचार र दण्डहीनता बढेर गएको बताए ।
‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर तर दिनानुदिन भ्रष्टाचार बढेर गएको छ । दण्डहीनता बढेर गएको छ । सुशासन त नामै छैन । सिडियो र मालपोत कार्यालयमा जाँदा नै सुशासन कस्तो छ देख्न सकिन्छ । यस्तो अवस्थालाई कांग्रेसले बदल्न सकेन भने पार्टी कमजोर हुन्छ । साथै देश पनि कमजोर हुन्छ,’ उनले भने । कोइरालाले एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै कटाक्ष गरे । उनले अहिले भूमिसम्बन्धी आएको विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । खाली जग्गामा एमालेको आँखा गइहाल्ने उनको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको उनले बताए ।
उनले खाली जग्गा जतिमा जताततै एमालेको मात्रै नाम सुनिने बताए । सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै उनले प्रश्न गरे । एक जना तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेको बताउँदै नेता कोइरालाले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भने राजीनामा नदिएर बसिरहेको बताए । ‘भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती बसिरहनु भएको छ । जबकि कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधार मन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ,’ कोइरालाले भने ।
यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलक्षित गरेर पनि कोइरालाले थप अभिव्यक्ति दिए । उनले भने, ‘बिचौलिया एक जना हुनुहुँदो रहेछ । रेमश चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ?’ कोइरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
उनले संसदभित्र कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको समेत बताए । डा. कोइरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनु पर्ने आवश्यकता नरहेको बताए । उनले राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनु पर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए । उनले किन संशोधन हाल्नु भयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनु पर्न जरूरी नरहेको बताए ।
एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ । सांसद कोइरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताए । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको उनले बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बका उपसभापति घनराज सुनुवारलगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार