काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताएका छन् । बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताए । छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताए ।
समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताए । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताए । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
बाँकी चारजना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताए । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताए ।
कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेका छन् । साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेका थिए ।