सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

न्युयोर्कमा कुलमान घिसिङसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सोमबार, साउन २६ २०८२

अक्कल तामाङ
शेर्पा सङ्घ अमेरिकाले आयोजना गरेको विशेष अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियानका संस्थापक कुलमान घिसिङले नेपाली समुदायसँग आफ्नो ३० वर्षको सार्वजनिक सेवाको अनुभव, भविष्यका योजना र देशको आर्थिक रूपान्तरणबारे धारणा सार्वजनिक गर्नुभयो । कार्यक्रम सानो तर महत्वपूर्ण उपस्थिति रहेको घिसिङले बताउनुभयो । उहाँले हालसम्म अमेरिकामा १०–१२ वटा कार्यक्रममा भाग लिइसकेका र गल्फका ४ देश भ्रमण सम्पन्न गरिसकेको जानकारी दिनुभयो । प्राधिकरणबाट बाहिरिएपछि उहाँले ग्रासरुटदेखि उच्चस्तरका व्यक्तिहरूसँग भेटघाट गर्दै, “विदेशमा आएर स्वदेशको चिन्ता गरिरहेका नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु,” भन्नुभयो ।
“नेपाल सरकारले मलाई बर्खास्त गरे पनि देश विदेशका जनताले माया र विश्वास देखाए। यसैले अझै केही गर्नुपर्ने दृढ निश्चयका साथ ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको हुँ,” घिसिङले भन्नुभयो ।
उज्यालो नेपाल’ अभियानका मुख्य उद्देश्यहरू :
१. देश–विदेशका विशेष व्यक्तिहरुको टिम निर्माण : डेटा संकलन, नेटवर्किङ, र सबैलाई जोड्ने।
२. समृद्धिको लागि रोडम्याप तयार : विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरी योजनाहरू बनाउने।
३. वैकल्पिक राजनीतिक नेतृत्व निर्माण : सक्षम टिम बनाएर देश विकासमा योगदान दिने।
उहाँले स्पष्ट पार्नुभयो “नेपालमा जुन किसिमको आर्थिक रूपान्तरणको लागि नेतृत्व चाहिन्छ, त्यस्तो अहिले छैन। Right man, right place, right time हुनुपर्छ। नेपाललाई सम्भावनाको देश बनाउनु मेरो लक्ष्य हो।”
सुझाव र प्रश्न–उत्तर सत्र
कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न र सुझाव राखे:
आङछिरिङ शेर्पा (NRNA RC तथा न्यूयोर्कका पूर्व अध्यक्ष): उज्यालो नेपाल अभियानको रणनीति र सम्भावित राजनीतिक सहभागिताबारे प्रश्न।
तोरण गुरुङ (जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष): अभियानलाई सबै जाति समुदायलाई समेट्ने र राष्ट्रिय एकताको भावनामा जोड दिन सुझाव।
पूर्व DIG पार्वति थापा: सुरक्षा, सुशासन र पारदर्शितामा जोड दिन सुझाव।
निमा शेर्पा एक जाति र समुदायमा न अल्झि समग्र नेपालीसङ्ग हातेमालो गर्न सुझाव । दिपक चौधरी: रोडम्यापको कार्यान्वयन र अभियान प्रशिक्षणबारे प्रश्न ।
शान्ति गुरुङ: नयाँ राजनीतिक पार्टीमा आवद्ध हुन सुझाव ।धर्मगुरु: तान्त्रिक विद्या अनुसार अभियानको सफलताको प्रार्थना।
उत्तरमा घिसिङले भन्नुभयो “कुनै हालतमा जनतालाई घात नगर्ने, संविधानभित्र रहेर संशोधन गर्दै अगाडि बढ्ने, र म यो चुनौती व्यवस्थापन गर्न जान्दछु, सहि नेतृत्वले सबै प्रश्नको उत्तर दिनेछ “।
कार्यक्रमको सञ्चालन सस्थाका महासचिव तथा NRNA न्युयोर्क च्याप्टरका अध्यक्ष छिरिङ शेर्पाले उत्कृष्ट रूपमा गर्नुभयो भने अध्यक्षता र समापन अध्यक्ष ए.पी. लामा शेर्पाले गर्नुभयो । समापन मन्तव्यमा बोल्दै लामाले “आजको अन्तर्क्रिया केवल एउटा भेटघाट मात्र होइन, यो हाम्रो भविष्यको सोच निर्माणको अवसर हो। शेर्पा सङ्घ अमेरिका नेपाली समुदायको हित र देशको समृद्धिका लागि सधैं तयार छ” भन्नुभयो ।
कार्यक्रममा न्युयोर्कका अन्य सङ्घ सस्थाका प्रतिनीधिहरुको बाग्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार