काठमाडौँ । माल्टामा भएको ‘हिट एन्ड रन’ सम्बन्धी एक दुर्घटनामा म्याग्दीका ४२ वर्षीय खिमबहादुर पुनको मृत्यु भएको छ। तीन सन्तानका पिता पुन करिब तीन वर्षअघि रोजगारीका सिलसिलामा माल्टा पुगेका थिए । त्यहाँ उनी फुड कुरियरको रूपमा कार्यरत थिए। उनका परिवार हाल पोखरामा बसोबास गर्दै आएको खुलेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार दुर्घटना आइतबार बिहान बिरकिरकारा क्षेत्रको त्रिक साल्भु पसाइला सडकमा भएको हो। स्थानीय समयानुसार करिब ५ः२० बजे पुनले चलाउँदै गरेको मोटरसाइकललाई कारले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ। ठक्करपछि सो कार पार्किङमा रहेका तीन अन्य सवारीसाधनमा ठोक्किएको र त्यसपछि सवार तीन जना पैदल भागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमै पुनको मृत्यु भएको हो। स्थानीय प्रहरीले घटनामा संलग्न १७ वर्षीय चालक र उनको बुबालाई पक्राउ गरेको छ। सोही क्रममा भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई समेत नियन्त्रणमा लिइएको छ। उनलाई सामान्य चोटपटक लागेका कारण मातर–देई अस्पताल लगिएको तर स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
एनआरएनए माल्टाले पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको शव नेपाल पठाउन सहयोगार्थ आर्थिक संकलन सुरु गर्ने घोषणा गरेको छ। पुन माल्टामा दुर्घटनामा निधन हुने दोस्रो नेपाली फुड डेलिभरी चालक हुन्। यसअघि फेब्रुअरी २०२२ मा २८ वर्षीय अजय श्रेष्ठको माल्टामै भएको सडक दुर्घटनामा ज्यान गएको थियो।
माल्टामा यो वर्ष मात्रै आइतबार भएको क्षेत्रमा सडक दुर्घटनामा १८ जनाको मृत्यु भइसकेको छ। जुलाई महिनामा मात्र छ जनाले ज्यान गुमाएका छन् भने जुलाई २३ देखि २९ सम्मको हप्ता पछिल्ला २५ वर्षकै सबैभन्दा घातक साबित भएको आधिकारिक तथ्यांकले देखाएको छ। हाल माल्टामा करिब १० हजार नेपाली काम गरिरहेका छन्। केही साताअघि पनि माल्टामा मएक नेपालीको डुबेर निधन भएको थियो ।