आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, साउन २३ २०८२

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल दलित सङ्घका पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस सुर्खेतका पूर्वउपसभापति एवम् संविधानसभा सदस्यसमेत रहनुभएका बस्यालको निधनमा दुःख व्यक्त गर्नुभएको हो । क्यान्सर रोगबाट पीडित उहाँको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित निवासमा आज बिहान निधन भएको हो ।
विसं २००८ माघ १५ गते जन्मनुभएका स्व बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको जनाइएको छ । बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले बस्यालको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको बताउनुभयो । स्व बस्यालले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने सभापति देउवाले बताउनुभयो ।
सभापति देउवाले स्व बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार