चितवन, २३ साउनः शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भन्नुभयो, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ। अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा आवश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो ।
उहाँका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।