आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाली युवालाई भारत पुर्याएर मिर्गौला झिकियो, तीनजना पक्राउ

बिहिबार, साउन २२ २०८२

काठमाडौं(जस)–होटलमा काम लगाइदिने बहानामा भारत पु¥याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानव अङ्ग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन जना व्यक्ति संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली र सोही पालिकाको वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् । उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरिएको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
पंगेनीका अनुसार पक्राउ परेकाले २०८२ जेठमा एक पुरुषलाई काठमाडौं कोटेश्वर आकाशेपुल नजिकबाट कलंकीबाट भैरहवाको सुनौली बोर्डर हुँदै भारतको चण्डीगढ पु¥याएका थिए । उनीहरूले पीडितलाई चण्डीगढको एक होटलमा मासिक १० देखि २० हजार भारु कमाई हुने लोभ देखाएर हिँडाएका थिए । चण्डीगढस्थित अपार्टमेन्टमा राखेर आरोपीले हाल नाम नखुलेको क्लिनिकमा एउटा मेडिकल चेकअप गराए । ‘त्यहाँ करिब एक महिना राखेपछि ‘तिमीलाई छ लाख रुपैयाँ दिइन्छ, मिर्गौला निकालिसकेपछि नेपाल फर्किँदा पैसा दिन्छौं’ भनेका थिए,’ पीडितलाई उद्धृत गर्दै एसएसपी पंगेनीले भने ।
तर, जब पीडितले मिर्गौला दिन अस्वीकार गरे, त्यसपछिको कथा भयावह बन्यो । ‘त्यतिबेलासम्म लागिसकेको खर्च तिर्नुपर्ने भन्दै डर, त्रास र करकापमा पारेर पीडितलाई २०८२ साउन ९ गते बायाँ मिर्गौला झिकियो,’ पंगेनीले भने । मिर्गौला निकालिएको केही दिनपछि आरोपीहरूले यी पीडितसहित अन्य चार जनालाई नेपाल पठाएका थिए । उनीहरू साउन १५ गते काठमाडौं फर्किएपछि भने पीडितले आफूले झेलेको पीडा ब्युरोमा पोखे, जाहेरी दिए । जाहेरीपछि ब्युरोले विशेष अपरेसन चलाएर साउन २१ गते समिर नेपालीलाई नयाँ बसपार्क, मित्रनगरबाट, राकेश नेपालीलाई टोखा नगरपालिका–३ बानियाँटारबाट र साउन २२ गते राजकुमार परियारलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको पंगेनीले बताए ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा आरोपीहरू लामो समयदेखि नेपाल र भारत दुबै देशमा बसेर योजनाबद्ध रूपमा मिर्गौलाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिले पीडितहरूको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर चण्डीगढ पु¥याउने गरेका थिए । ‘अहिलेसम्म यी आरोपीले ५०–६० जनालाई भारत लगेर मिर्गौला झिकिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पंगेनी भन्छन्, ‘अन्य पीडितलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’ ‘भारतमा रोजगारीको प्रलोभन देखाउने, नेपालबाट भारतसम्म ओसार्ने र क्लिनिक पु¥याएर मेडिकल चेकअप गरी मिर्गौला झिक्ने काममा यही गिरोहको संलग्नता देखिएको छ,’ पंगेनी भन्छन् ।
ब्युरोका अनुसार यो अपराधलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ परेका तिनै जना अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ । ‘यो केवल एउटा घटना होइन, अन्य पीडितको खोजी कार्य जारी छ,’ पंगेनी भन्छन् । ब्युरोले घटनासँग सम्बन्धित अन्य फरार व्यक्तिहरूको खोजी पनि गरिरहेको पंगेनीले बताए । मानव अङ्ग तस्करी न संगठित अपराध हो, यो गम्भीर मानव अधिकार हनन् समेत हो । यस घटनाले गरिबी, बेरोजगारी र सामाजिक असमानताको शिकार बनेका नेपाली युवाहरूलाई कसरी अन्तरदेशीय गिरोहले लक्षित गरिरहेका छन् भन्ने कुराको चित्र प्रस्तुत गरेको छ । मिर्गौला तस्करी नेपालमा बढ्दो चिन्ताको विषय बन्दै गएको अहिलेको घटनाले देखाएको पंगेनीले बताए । कानुनी कठोरता र अन्तरदेशीय सहकार्य अझ प्रभावकारी नहुँदासम्म यस्ता अपराध नियन्त्रण कठिन हुने देखिएको पंगेनी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार