मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कञ्चनपुरका पत्रकार तेजबहादुर भण्डारीको निधन

बिहिबार, साउन २२ २०८२

कञ्चनपुर, २२ साउन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए।

उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए। स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन्।

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी, स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार