काठमाडौं, २१ साउन । अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका सञ्चालक बहुदरमाई नगरपालिका २ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका १५ प्रतिमा चोकबाट पक्राउ गरेको हो । उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगी २० वैशाखमा जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा २३ वैशाख बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूविरुद्ध अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।