काठमाडौं, २१ साउन । ११ करोड ५५ लाख ठगी गरेको आरोपमा शेयर कारोबारी जयन्त श्रीवास्तव पक्राउ परेका छन्।
ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवसहित ४ जनाविरुद्ध ठगीको उजुरी परेको थियो।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार जयन्तविरुद्ध प्रहरीमा उजुरी परेपछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
सोधपुछपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। एक हप्ताअघि अर्का शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी धरौटीमा छुटिसकेका छन्। उनकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा अर्का कारोबारी श्रीवास्तव पक्राउ परेका हुन्।
मिताले सिप्रदीका अन्य ३ जनाविरुद्ध पनि उजुरी दिएको बुझिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरमा दिएको उजुरीका आधारमा उनीहरूविरुद्ध पक्राउपुर्जी जारी गरिएको थियो।
उजुरी पर्नेमा सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने छन्।