शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

२८ लाख धरौटीमा दुर्गा प्रसाईं रिहा

सोमबार, साउन १९ २०८२

काठमाडौं(जस)–काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले काठमाडौं जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई बदर गर्दै सोमबार यस्तो निर्णय सुनाएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रतिवादीहरूमाथि लगाइएका गम्भीर आरोपहरू राजद्रोह, संगठित अपराध र कर्तव्य ज्यानजस्ता कसूरमा तत्काल विश्वास गर्न लायक आधार नदेखिएको ठहर गरेको हो ।
अदालतको आदेशअनुसार, दुर्गा प्रसाईलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनिएको छ । यद्यपि उनी यसअघि पनि बिभिन्न मुद्दाहरूमा धरौटीमा छुटेका थिए । पछिल्लो समय उनका नाममा राज्यविरुद्धको अपराध, संगठित आपराधिक समूह निर्माण, र हिंसात्मक गतिविधिमा संलग्नता लगायतका अभियोग लाग्दै आएका छन् । विभिन्न मुद्दाहरूमा उनीमाथि जम्मा २८ लाख रुपैयाँ धरौटी तोकिएको छ । तीनकुने घटनामा ३ लाख धरौटी मागेको अदालतले उनीसँग बैंकिङ कसुरमा २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले सोही घटनामा पक्राउ परेका सुशील बराल र सरोज गौतम (तारा राजावादी) लाई ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न भनिएको छ । उच्च अदालतको आदेशमा भनिएको छ, “फौजदारी कसूर र राजनीतिक विचार, आस्था वा निष्ठा फरक फरक कुरा हुन् । प्रचलित फौजदारी कानून प्रतिकूलका कार्य वा व्यवहारलाई राज्यले कानूनको दायरामा ल्याउनु आवश्यक छ । तर फौजदारी कानूनको आडमा राजनीतिक क्रियाकलापलाई निषेध वा दण्डित गर्नु नेपालको संविधानले आत्मसात गरेका मूल्य, मान्यता वा आदर्शसँग मेल खाँदैन ।”
अदालतले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । प्रतिवादीहरूमाथि लगाइएका मुख्य अभियोगहरूमा प्रमाणको अभाव देखिएको अदालतले निष्कर्ष निकालेको छ । संगठित अपराधमा सरकारद्वारा दाबी गरिएजस्तो ‘अनवरत तत्पर फौज’ जस्ता समूहहरूको आपराधिक पृष्ठभूमि पुष्टि हुने प्रमाण अदालतमा पेश नभएको उल्लेख गरिएको छ । राजद्रोह र कर्तव्य ज्यान अभियोगमा प्रतिवादीहरूको संलग्नता पुष्टि हुने आधार भेटिएको छैन । विशेषतः पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्युसँग उनीहरूको नियतपूर्वक संलग्नता नदेखिएको अदालतले जनाएको छ ।
आपराधिक उपद्रव भएको स्वीकार गरे पनि त्यसैका आधारमा थुनामा राख्नुपर्ने अवस्था नरहेको अदालतले ठहर गरेको छ । इजलासले प्रसाईं क्यान्सर पीडित रहेको र दण्डपाणी रेग्मी एचआईभी संक्रमित भएको विवरणलाई धरौटी निर्धारण गर्दा विचार गरिएको जनाएको छ । यस्तै, अधिवक्ता राजकुमार सुवालको ल फर्ममा भएको आगजनीमा नष्ट भएका कागजातहरूका विषयमा इजलासले विशेष आदेश दिँदै, उनका मागबमोजिम सबै अदालत र सरकारी निकायहरूबाट निःशुल्क मिसिल प्रतिलिपि उपलब्ध गराउन निर्देशन दिएको छ ।
गत चैतमा ‘राजसंस्था समर्थक’ समूहले आयोजना गरेको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा भएको झडप हिंसात्मक बनेको थियो । सो घटनामा प्रहरीले दुर्गा प्रसाईसहित ५० जनाभन्दा बढीलाई पक्राउ गरी राज्यविरुद्धको कसूर, संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतका अभियोगमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध परेको रिटमा उच्च अदालतले थुनाबाहिरबाट मुद्दा लड्न पाउने अधिकार सुनिश्चित गर्दै आदेश दिएको हो । धरौटी बुझाएर सोमबार नै प्रसाईं रिहा भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार