१८ असाउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु भइरहेको दाबी गरेका छन् । प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने धारणा व्यक्त गरे ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताए । देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको उनले बताए ।
आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जीवित रहनु परेको कारण अर्को क्रान्ति गर्ने उनको भनाइ छ ।
‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेका छौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’