शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : ‘समाजवादी मोर्चा’ को भविष्य

बिहिबार, साउन १५ २०८२

दुई वर्ष अघि नेपालका चार वाम दलहरु मिलेर गठन गरिएको समाजवादी मोर्चाले नयाँ संयोजक चयन गरेको छ । संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव दोहोरिएका छन् । यो मोर्चा २०८० साल असार ४ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा संयुक्त रूपमा घोषणा गरिएको थियो । मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) रहेका थिए । तर पछि मोर्चाबाट उपेन्द्र यादव नेतृत्वको जसपा बाहिरिएको थियो । गठबन्धनमा पछि नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव समूह) पनि समावेश भएको थियो । मोर्चाको संयोजक पद (नेतृत्व) आलोपालो प्रणालीअनुसार गर्ने र ६/६ महिनामा नेतृत्व बदल्ने सहमति भएको थियो । शुरुमा माधवकुमार नेपाल संयोजक रहेका थिए र पछि विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वमा आएका थिए ।

नेपालको संविधानले दिएको समाजवादको लक्ष्य कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, वर्ग, जाति, क्षेत्रीय विभेद समाप्त गरी समावेशी र न्यायिक समाज निर्माण गर्ने, आर्थिक समृद्धिका लागि समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने मोर्चाको उद्देश्य र विचारधारा रहेको थियो । त्यसैगरी कृषि, उद्योग, ऊर्जा, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रहरुमा वैज्ञानिक तथा दिगो नीति कार्यान्वयन गर्नुपर्ने मोर्चाका उद्देश्य थिए । सोही उद्देश्य बमोजिम २०८१ साल माघ १६ गते राजधानी काठमाडौंमा मोर्चाको वैचारिक आवश्यकता र कार्यक्रम स्पष्ट गर्नका लागि कार्यक्रम आयोजना गरिएको थियो । २०८१ चैत १४ मा काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा मोर्चाले ठुलो प्रदर्शन घोषणा गरेको थियो, जसमा चार दल मिलेर जनतामा जाने योजना गरेका थिए । त्यसपछि मोर्चाले २०८२ साल चैत १५–१८ गते राजावादी प्रतिगमन विरोधी विरोधसभा आयोजना गरी सम्पन्न गरेको थियो । साथै, मोर्चाले पत्रकार, बुद्धिजीबी, नागरिक समाजसँग बहस र अन्तरक्रिया कार्यक्रम र मिडिया अन्तरक्रिया समेत गरेको थियो । त्यसयता मोर्चा निस्कृय जस्तै बनेको थियो । पछिल्लो समय जनतामा ठोस कार्यक्रम लिएर जान नसकेको भन्दै मोर्चामा आवद्ध दलका केही नेताहरुले मोर्चा भंग गर्नुपर्ने मत समेत राख्दै आएका थिए ।

तर यही मंगलबार नेकपा (समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा भएको मोर्चाको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार विप्लव मोर्चाको संयोजकमा दोहोरिएका छन् । मंगलबारकै बैठकले समाजवादी मोर्चामार्फत सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । मोर्चाको सचिवालयले थप कार्यक्रम तय गर्ने जनाइएको छ । ती कार्यक्रम सरकारलाई खबरदारी गर्नेमा केन्द्रित हुने पनि मोर्चाको भनाई छ ।

यतिबेला संसदको दोस्रो ठुलो दल नेकपा (एमाले)को नेतृत्वमा सरकार छ भने संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले एमालेलाई गठबन्धनमा सघाइरहेको छ । देशमा सुशासन कायम हुन सकेको छैन । सत्ताको सहयात्री दलकै नेताहरुले सरकारको कार्यशैलीप्रति चित्त बुझाउन सकेका छैनन् । सरकारमै सहभागी मन्त्रीहरु भ्रष्टाचारको आरोपमा धमाधम पदमुक्त भइरहेका छन् । ठुला ठुला भ्रष्टाचारका काण्डहरु एकपछि अर्को गर्दै बाहिरिएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले अझै काम गर्न सकिरहेको छैन । संसदमा दर्ता भएका बिभिन्न विधेयकहरुमाथि छलफल हुने र नयाँ कानुनहरु निर्माण गर्ने कार्य अझै पनि सम्पन्न हुन सकिरहेको छैन । संविधान संशोधनको विषय ओझेलमा परेको छ । खेतिपातीको समयमा किसानले रासायनीक मलको अभाव भोग्नु परिरहेको छ भने अघोषित लोडसेडिङले जनता अक्रान्त बनेका छन् । यी र यस्ता अनेकौँ विषयहरुमाथि जनतालाई सत्यतथ्य जानकारी दिई सचेत बनाउने समाजवादी मोर्चाको जिम्मेवारी र अभिभारा ठुलो छ । यसका लागि मोर्चाले तत्कालै रचनात्मक कार्यक्रहरु तयार पारेर जनताको घर दैलोमा जानु आजको आवश्यकता हो । यस अर्थमा समाजवादी मोर्चा समाज, राष्ट्र र जनताप्रति झनै उत्तरदायी बन्दै जानु पर्छ । यो मोर्चा दोबाटोमा अलमलिनु हुँदैन । आफ्नो लक्ष्य र उद्देश्यप्रति मोर्चा दृढताकासाथ अगाडि बढ्दै जानुपर्छ । मोर्चा बिचैमा टुटफुट र बिघटनको दिशामा जानु हुँदैन । यस अर्थमा समाजवादी मोर्चाका नयाँ संयोजक विप्लवलाई हार्दिक शुभकामना !

प्रतिक्रिया
सम्बन्धित समाचार