मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लोक सेवा आयोगको परीक्षामा चिट चोर्ने तीन जनालाई कारबाही

बुधबार, साउन १४ २०८२

काठमाडौं, १४ साउन । लोक सेवा आयोगको परीक्षामा नियम तोड्ने तीन जना कारबाहीमा परेका छन् । आयोगले विभिन्न मितिमा लिएको लिखित परीक्षामा जथाभावी गर्ने दुई पुरुष र एक महिला परीक्षार्थीलाई कारबाही गरिएको हो ।

गत असार १४ गते अमिन पदका लागि लिइएको लिखित परीक्षामा बाराका सोभीकान्त बंठा नियमविपरीत उत्तरपुस्तिका घर लिएर गएका थिए । आयोगले फोन गरेपछि फिर्ता गरेका उनलाई लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ को २ (ख) बमोजिम एक वर्षका लागि आयोगबाट सञ्चालित परीक्षामा सहभागी हुन नपाउनेगरी निलम्बन गरिएको छ ।

यस्तै, खरिदार पदका लागि असार २३ गते लिइएको लिखित परीक्षामा रुपन्देहीकी सिता घिमिरे भुसालले चिट चोरेको भेटिएको आयोगको भनाइ छ । आयोगका अनुसार बायाँ हातको नाडीदेखि पाखुरासम्म डटपेनले लेखेर आएकी उनी परीक्षामा त्यो सार्दै लेखिरहेको अवस्थामा फेला परेकी थिइन् । उनलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ ।

खरिदार पदकै निम्ति असार २० गते आयोगले लिएको लिखित परीक्षामा सर्लाहीका रमेशकुमार यादवले पनि चिट चोरेपछि एक वर्षका लागि लोक सेवाको परीक्षामा सामेल हुन रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार