काठमाडौँ(जस)–प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालसँग भेटवार्ता गर्दै वैदेशिक रोजगार ऐनअन्तर्गतको वाध्यकारी १०० श्रमिक संख्या सम्बन्धी प्रावधानबारे गम्भीर छलफल गरेका छन् । मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सल्लाहकार रिमाललाई सय संख्याको प्रावधान हाल प्रतिनिधिसभाबाट संशोधन भई पारित भइसकेको र राष्ट्रपति कार्यालयमा लालमोहरको प्रक्रियामा रहेको जानकारी गराउँदै, सो प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८१ वा अन्य उपयुक्त प्रशासनिक उपाय अवलम्बन गरी तत्काल व्यवसायीहरूलाई राहत दिन आग्रह गरेको छ ।
प्रत्येक दुई बर्षमा लगातार सय कामदार विदेश पठाउन नसक्ने मेनपावर कम्पनी नविकरण नहुने भएकाले व्यवसायीहरु समस्यामा परेका हुन् । अहिले पनि सयौ संख्याका मेनपावरहरु नविकरण नहुँदा काम गर्न पाएका छैनन् । प्रमुख सल्लाहकार रिमालले मेनपावर व्यवसायीहरुको गम्भीरतालाई गहिराइबाट बुझेको बताउँदै, सम्बन्धित निकायमा यथोचित पहल गरिने आश्वासन दिए । मञ्चका अध्यक्ष जनक रावलका अनुसार व्यवसायीहरूको मागलाई सम्बोधन गर्न थप समन्वय गरिँदै जाने प्रतिबद्धता मञ्चले व्यक्त गरेको छ । अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएशन पनि सय संख्याको समस्या समाधानका लागि आफ्नो तरिकाले दवाव सृजना गरिरहेका छन् ।