काठमाडौँ(जस)–बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध संसदीय दलमै अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । नेपाली कांग्रेसका ३७ जना प्रदेशसभा सांसदमध्ये २१ जनाले लामाविरुद्ध हस्ताक्षर गरेर दलको नेता परिवर्तनको प्रस्ताव दर्ता गराएसँगै लामाको पद संकटमा परेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा दर्ता गरिएको उक्त प्रस्तावमा लामाको नेतृत्वमा सरकार प्रभावकारी बन्न नसकेको, पार्टीको भूमिका कमजोर देखिएको, बजेट कार्यान्वयन फितलो भएको र जनताबीच कांग्रेसप्रति वितृष्णा बढेको आरोप लगाइएको छ । प्रस्तावमा भनिएको छ, ’विनियोजित बजेटसमेत प्रभावकारी कार्यान्वयन गर्न सक्नुभएन, राजस्व संकलन र खर्चको स्थिति नाजुक छ, राहत र पुनर्निर्माण प्राथमिकतामा पर्न सकेको छैन ।’
सांसदहरूका अनुसार लामाले राम्रो काम गर्न र प्रभावकारी भूमिका खेल्न नसकेको अनुभव गरिएको छ । पार्टी, संसदीय दल र सरकारबीच समन्वयको अभाव रहेको, नियुक्तिहरू स्वेच्छाचारी ढंगले गरिएको, प्रदेशसभामा नयाँ विधेयक पेस गर्न नसकिएको तथा संसद बैठक नियमित रूपमा नबसी सरकारको काम कारबाही नै न्यून देखिएको उनीहरूको आरोप छ । तर लामाले भने आफू प्रस्तावको सामना गर्न तयार रहेको र यो पार्टीभित्रको नियमित प्रक्रिया भएको बताएका छन् । उनले भने, ’म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धन सरकार भएको अवस्थामा सहमतिअनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वाभाविक रूपमा राजीनामा दिनुपथ्र्यो, तर अहिले त्यस्तो अवस्था होइन ।’
उनले बानियाँ पक्षले बजेटलाई निहुँ बनाएर आफूलाई असफल देखाउने प्रयास गरेको आरोप लगाए । ’हामीले एक वर्षमा गरेको कामको परिणाम देखिने बेलामा उहाँहरूले नेतृत्व परिवर्तन गर्न खोज्नु उचित होइन,’ लामाले भने, ’प्रदेश सरकारले काम गरिहरेको अवस्थामा नेतृत्व बदलेर फाइदा हुँदैन ।’ मुख्यमन्त्री लामाले गठबन्धन सरकार भएकाले सहमति अनुसार अझै करिब एक वर्ष काम गर्न पाउने स्पष्ट पारेका छन् । उनले बर्खास्ती दिइसकेका मन्त्रीहरूको ठाउँमा नयाँ नियुक्तिको तयारीसमेत थालेका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू नेताहरूको पक्षधरताका आधारमा विभाजित छन् । बानियाँको पक्षमा देउवा, गगन थापा, प्रकाशमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँण निकटका सांसदहरू उभिएका छन् । यस्तै, याङ्किला शेर्पा, सुरजचन्द्र लामिछाने, मीना पराजुली, छिरिङ दोर्जे तामाङ, माया श्रेष्ठ, सुना परियार, उर्मिला नेपाल लगायतले लामाको विरुद्धमा हस्ताक्षर गरेका छन् । तर, देउवा निकट भनेर चिनिने सांसद तीर्थ लामा, छत्रबहादुर बोम्जन, गोविन्द लम्साल लगायतले भने लामाको पक्षमा उभिएका छन् । शेखर कोइराला पक्षीय सांसद उत्तम जोशी, गीता गुरुङ, रमेशकुमार महत र रामकुमार पहाडीले हस्ताक्षर गरेका छैनन् । डिना उपाध्याय पक्षीय समिता खड्गी र लक्ष्मीदेवी श्रेष्ठले पनि लामाको पक्ष लिएका छन् । मोहन बहादुर बस्नेत पक्षीय कृष्णकुमार श्रेष्ठ र मसिना खड्काले पनि प्रस्तावमा समर्थन जनाएका छैनन् ।
प्रदेश सभामा कांग्रेसका कुल ३७ सांसद छन् । दलको नेतृत्व हटाउन १९ सांसदको समर्थन आवश्यक पर्छ । प्रस्तावमा हस्ताक्षर गर्ने २१ सांसद छन् । बानियाँले अविश्वासको प्रस्ताव दर्तापछि भने, ’प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको नेपाली कांग्रेसले विश्वासको आधारमा लामालाई नेता बनायो, तर नेतृत्व प्रभावकारी नदेखिएकाले अधिकांश सांसदको निष्कर्षमा हामी यो कदम चाल्न बाध्य भयौं ।’ बानियाँ स्वयं २०७९ माघमा भएको संसदीय दलको नेताको निर्वाचनमा १६ मत ल्याएका थिए । हाल उनीसँग पाँचजना आफ्नै समर्थक सांसदहरू छन् । उनले लामामाथि लगातार मोर्चाबन्दी गर्दै आएको र अहिले गुटगत समीकरणमा बहुमतको दाबी गर्दै नेतृत्व परिवर्तनको खेलमा अग्रसर देखिएका छन् ।
मुख्यमन्त्री लामाले भने यो प्रस्तावलाई व्यक्तिगत आक्रमण नभई संस्थागत प्रक्रियाको हिस्सा भन्दै संयमता देखाउने प्रयास गरेका छन् । तर उनले पनि चेतावनीपूर्ण शैलीमा भनेका छन्, ’निहुँ खोज्ने काम राम्रो होइन । गठबन्धनको सन्तुलन बिगारेर नेतृत्व बदल्ने प्रयासले उल्टो असर पर्न सक्छ ।’ यथास्थितिमा बागमती कांग्रेसभित्र देखिएको गुटगत द्वन्द्व स्पष्ट छ । लामाले प्रस्तावको सामना कसरी गर्छन्, उनको रणनीति के हुन्छ र देउवा पक्षभित्रकै मत विभाजन कता मोडिन्छ भन्ने कुराले अबको राजनीति प्रभावित हुनेछ । उसो त शु्क्रबार नै बागमतीका ४ मन्त्रीले राजीनामा दिएका थिए । तर उनीहरुलाई लामाले बर्खास्ती गरेको जिकिर गरेका छन् । उनीहरुको ठाउँमा नयाँ नियुक्ति हुने उनको भनाइ छ ।