काठमाडौं(जस)–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए । पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउने गरी पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएको हो । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।
संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको छ । पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने एमालेको निष्कर्ष छ । यता पूर्व राष्ट्रपति भण्डारीले आफू अघि बढिसकेकाले खुट्टा नकमाउने बताइसकेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयपछि पूर्व राष्ट्रपति भण्डारीले केहि दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी थिइन् ।
एमालेले भण्डारीको सदस्यता नवीकरण रद्द गरिदिएपछि पार्टी दुई कित्ताका ध्रुवीकरण भएको छ । बुधबार बिहान सम्पन्न एमालेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता रद्द गर्ने निर्णय गरेको थियो । २०७२ देखि २०७९ सम्म सात वर्ष राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गरेकी उनले असार १४ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर सदस्यता नवीकरण विषय सार्वजनिक गरेकी थिइन् । साथै सोही दिनबाट फेरि एमालेको सक्रिय राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् । भण्डारीको घोषणाबाट असन्तुष्ट देखिएका प्रधानन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमा सदस्यता नवीकरण रद्द गरिएको थियो । उक्त निर्णयको उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति जनाएका थिए ।
पार्टीले सक्रिय राजनीतिमा आउने ढोका नै बन्द गरिदिएपछि भण्डारीले आफू पछि नहट्ने बताइसकेकी छिन् । उनलाई पार्टीमा फर्किन निषेध गरेको सम्बन्धमा एमालेले प्रस्टीकरण दिएको छ । यसैबीच बिहीबार एक सार्वजनिक कार्यक्रममा देखिएकी पूर्वराष्ट्रपति भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताइन छन् । भण्डारीले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने बताएकी हुन् । आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको उनको भनाई थियो । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।