काकाठमाडौं(जस)–शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गते बुधबारदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
यस ऋणपत्रमा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक रहेको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेड, कालिकानगर बुटवलस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालय र मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन् ।