आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्टलाई छुट्टै ‘डेस्क’

आइतबार, असार २९ २०८२

काठमाडौ(जस)–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्ट व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल बनाउनका लागि छुट्टै डेस्क स्थापना गरिएको बताएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नु हुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी÷भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,’ कार्यालयको सूचनामा उल्लेख छ ।
भीआईपी–भीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने छ । ‘नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपी–भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइ दिनु हुन समेत सादर अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ ।
यस्तै अध्यागमन विभागले शुक्रबार।देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.) मा कार्यरत कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको थियो । यो आचारसंहिताको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुरूप कर्मचारीहरूलाई राष्ट्रिय कानुन, सामाजिक र सांस्कृतिक मूल्यप्रति जिम्मेवार बनाउनुका साथै सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउनु रहेको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् ।
यस आचारसंहिताले कर्मचारीहरूलाई प्रस्थान गर्ने यात्रुहरूलाई कम्तीमा ‘शुभ यात्रा’ र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई कम्तीमा’नेपालमा स्वागत छ, शुभ दिन’ भन्न निर्देश गरेको छ । साथै, यात्रुहरूसँग थोरै र आवश्यक प्रश्नहरू मात्र सोध्ने, खाडी मुलुकलगायत अन्यत्र श्रम गर्न प्रस्थान गर्ने यात्रुहरूसँग सम्मानयुक्त शब्द प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा मिठा सपना ल्याउने जस्ता व्यवहार अपनाउनुपर्ने उल्लेख छ । देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोली र व्यवहारमा आत्मीयता प्रदान गर्नुपर्ने कुरालाई पनि जोड दिइएको छ ।
नैतिक आचारसंहिता पालना भए नभएको मुल्यांकन गर्न यात्रुहरूले तत्कालै आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ । हाल कार्यालयका १५ वटा डेस्कमा अन्तिम सर्वेक्षण प्रणाली जडान गरिएको छ, जसमा यात्रुले सेवालाई उत्कृष्ट, सन्तोषजनक वा औसत रूपमा मुल्यांकन गर्न सक्छन् । बाँकी डेस्कहरूमा पनि छिट्टै यो प्रणाली जडान गरिने कार्यालयले जनाएको छ । सम्पूर्ण यात्रुहरूलाई यो सर्वेक्षणमा स्वैच्छिक सहभागिता जनाउन अनुरोध गरिएको छ । पछिल्लो भिजिट भिसा प्रकरणपछि अध्यागमन सुधारका लागि भन्दै कैयन् प्रयासहरू थालनी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार