काठमाडौं(जस)–सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले प्रविधिमा आधारित आफ्नो वार्षिक उत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करण आयोजना गर्न लागेको छ । चार दिनसम्म चल्ने यो विशेष कार्यक्रम असार ३२ देखि साउन ३ गतेसम्म कलेजकै परिसरमा हुनेछ । कलेजले यस कार्यक्रमलाई सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्दै आएको छ । आयोजकका अनुसार यस वर्षको संस्करण अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी हुने बताइएको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि यो कार्यक्रमले आफ्नो प्रतिभा प्रस्तुत गर्न, उद्योगसँग प्रत्यक्ष सम्पर्क जोड्न र उद्यमशीलताको वातावरणमा समाहित हुन महत्वपूर्ण भूमिका खेल्नेछ ।
कार्यक्रमको प्रमुख आकर्षणमा ‘इनोभेसन इन एक्सन’ शीर्षक अन्तर्गत प्रोजेक्ट प्रदर्शन हुनेछ, जसमा २० भन्दा बढी रोबोटिक्स र एआई आधारित नवप्रवर्तन सार्वजनिक गरिने छन् । प्रदर्शनमा ‘करुणा’ नामक ज्ञानमा आधारित सहयोगी रोबोट, ‘मिरा’ नामक शिक्षामा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट, ‘वारदोग’ नामक निगरानी रोबोट, ‘स्टडीसेन्स’ नामक भिआर शिक्षण उपकरण, र कृषिमा एआई प्रयोग गरिएको ‘तोमात्रों’ परियोजना समावेश छन् । यस्तै, केम्लाब ख्च्, फिसअवेर, एभिलट्विन डिटेक्टर एमएल, सुरक्षित एभी स्ट्रिम, फ्लिप च्ँक्ष्म् च्यालेन्ज जस्ता परियोजनाहरू पनि प्रदर्शनमा रहनेछन् ।
यस संस्करणमा स्टार्टअप उत्सव पनि हुनेछ, जहाँ कलेजका हालका तथा पूर्व विद्यार्थीहरूले सञ्चालन गरेका २० भन्दा बढी स्टार्टअपहरूले आफ्नो नवप्रवर्तन, सोच र व्यवसायिक मोडेलहरू प्रस्तुत गर्नेछन् । त्यस्तै, जब फेयर अन्तर्गत २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहनेछ । दुई दिन चल्ने यस रोजगार मेलामा सहभागी विद्यार्थीहरूलाई रोजगारका हजारौं अवसरहरू प्रत्यक्ष रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ । उद्यमशीलता मास्टर क्लास मा स्थापित फाउन्डर, लगानीकर्ता र मेन्टरहरूले व्यवसाय सुरु गर्ने इच्छुक विद्यार्थीहरूलाई तालिम दिनेछन् । उनीहरूले प्रत्यक्ष पिच सेसनमार्फत व्यवसायिक रणनीति निर्माणमा मार्गदर्शन दिनेछन् ।
कार्यक्रममा नेपालका सफल प्रविधिकर्मी र उद्यमीहरूले सञ्चालन गर्ने इन्सपाएर टक्स सत्रले सहभागीहरूलाई नयाँ सोच, दृष्टिकोण र भविष्य निर्माणप्रति प्रेरित गर्ने लक्ष्य लिएको छ । अर्कोतर्फ, ‘आइरन क्ल्यास – फलामको महासंग्राम’ अन्तर्गत दुई वर्षभन्दा बढी समयदेखि अभ्यासरत विद्यार्थी समूहहरूबीच रोचक र ज्ञानमूलक प्रतिस्पर्धा आयोजना गरिनेछ । ‘टेक एक्सस् एलिभेट २०२५’ मा भविष्यका प्रविधि नेताहरू, रोजगारी खोज्दै गरेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील सोच भएका स्टार्टअप संस्थापकहरू, लगानीकर्ता, मेन्टर, शिक्षक, मिडिया र इन्फ्लुएन्सरहरूको उल्लेखनीय सहभागिता रहनेछ । सफ्टवारिका कलेजका अनुसार, ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधि महोत्सव मात्र नभई शिक्षा, इनोभेसन र परिवर्तनको यात्राको प्रतिबिम्ब हो । कलेजले नेपाली शिक्षालाई प्रविधिमा आधारित, व्यवहारिक र विश्वस्तरीय बनाउने लक्ष्यसाथ विद्यार्थीहरूलाई सोच्न, सिर्जना गर्न र आइडियालाई प्रभावमा रूपान्तरण गर्न सक्ने वातावरण सिर्जना गर्दै आएको जनाएको छ ।