काठमाडौं, २७ असार । आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती एवम् पार्टीको तत्कालिन केन्द्रीय सल्लाहकार सीता दाहालको स्मृति दिवस ।
स्मृति दिवसका दिन प्रचण्डले काठमाडौंको रानीवनस्थित मानव सेवा आश्रममा रहेका असहाय बृद्ध, बृद्धाहरुलाई खाना खुवाएका छन् । उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराउँदै उनीहरुसँगै आफूले पनि खाना खाए ।
आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।
मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने उनको धारणा थियो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । उनको उपचारकै क्रममा काठमाडौंको एक अस्पतालमा २७ असार २०८० मा निधन भएको थियो।



