यही असार २६ गते बिहीबार गुरु पूर्णिमा मनाइएको छ । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन पनि हो । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि बिहीबार नै पर्ने भएकाले यस दिनलाई गुरु पूर्णिमाका रुपमा मनाउने गरिएको शास्त्रमा उल्लेख छ । विद्यालय, कलेज, विश्वविद्यालय र शिक्षालयहरुमा यसदिन शिक्षा र ज्ञान दिएर असल मानिस बनाउने गुरुहरुलाई आदरपूर्कक सम्मान गर्दै यो वर्ष मनाइएको छ । विद्यार्थी तथा शिष्यहरुले गुरुहरुलाई यसदिन श्रद्धापूर्वक खादा, माला, अबिर लगाउँदै बिभिन्न मिठा परिकारहरु खुवाउने र उपहार दिने चलन पनि रहिआएको छ ।
‘गुरुदेवो भव’ भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । यसको अर्थ, गुरुले ज्ञानको प्रकाश छरेर मानव जीवनलाई उज्यालो बनाउने गर्छन् । गुरुहरुले ज्ञान प्रदान गरेर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यतासमेत छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
गुरुहरुले पनि आफ्नो गरिमा र नैतिकता कायम राख्न जरुरी छ भने शिष्यहरुले पनि गुरुप्रतिको सम्मान, आदर र सत्कारलाई निरन्तरता दिई अनुशासित, कर्तव्यनिष्ठ भई राष्ट्र र समाजप्रति उत्तरदायी बनि असल नागरिक भएर भोलिका देशका कर्णधार बन्न जरुरी छ । मानिसको जीवन नै पाठशाला हो । ऊ ज्ञानले कहिल्यै पनि परिपूर्ण हुँदैन । मानिसले हरेक दिन, हरेक क्षण नयाँ कुरा सिकिरहेको हुन्छ, नयाँ कुरा जानिरहेको हुन्छ, नयाँ जीवन भोगिरहेको हुन्छ ।
वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु) को मुख्य भूमिका रहने मानिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई पनि गुरु भनिन्छ । जसले गुरुको सम्मान गर्दैन, भने ऊ पशुभन्दा पनि नीच हुने चाणक्यले बताएका छन् । शास्त्रमा गुरुका अनेक भेद बताइएका छन् । ज्ञान प्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिहरुलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीता ज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरुले जगतकै गुरु मान्छन् । यस्तै श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरुको प्रसङ्ग आउँछ ।
तर हिजोआज सबै गुरुहरु असल आचरण र व्यवहारका छैनन् भने सबै शिष्यहरु पनि गुरुप्रति अनुुग्रहित छैनन् । कतिपय विद्यालय तथा शिक्षालयका गुरुहरु नैतिकहीन भएको र कतिपय शिष्य तथा विद्यार्थीहरु गुरुलाई अनादर गर्ने, गालिगलौज गर्ने, आक्रमण गर्नेसम्मका घटनाहरु हामीले यदाकदा सञ्चारमाध्यमहरुमा सुन्न र पढ्न पाउछौँ । कतिपय गुरु र विद्यार्थीबीच अवैध सम्बन्ध हुने गरेको र यसैका कारण गुरुहरु दण्डित हुने गरेको हामी पाउछौँ । कतिपय गुरु र विद्यार्थीबीच वैवाहिक सम्बन्ध हुने गरेको पनि हाम्रो समाजमा पाइन्छ ।
तसर्थ गुरुहरुले पनि आफ्नो गरिमा र नैतिकता कायम राख्न जरुरी छ भने शिष्यहरुले पनि गुरुप्रतिको सम्मान, आदर र सत्कारलाई निरन्तरता दिई अनुशासित, कर्तव्यनिष्ठ भई राष्ट्र र समाजप्रति उत्तरदायी बनि असल नागरिक भएर भोलिका देशका कर्णधार बन्न जरुरी छ । मानिसको जीवन नै पाठशाला हो । ऊ ज्ञानले कहिल्यै पनि परिपूर्ण हुँदैन । मानिसले हरेक दिन, हरेक क्षण नयाँ कुरा सिकिरहेको हुन्छ, नयाँ कुरा जानिरहेको हुन्छ, नयाँ जीवन भोगिरहेको हुन्छ । त्यसैले शिक्षित र ज्ञानी मानिस कहिल्यै घमण्डी हुँदैनन्, उनीहरु समझदार हुन्छन् । मानिसले जीवनमा नयाँ ज्ञान सिकेर मात्र हुँदैन, त्यसलाई उसले प्रयोगमा पनि ल्याउन जरुरी छ । शिक्षा र दीक्षा जीवनका अभिन्न उज्वल पाटाहरु हुन्, यसको सबैले मनन् गरौँ, सबैले प्रयोग गरौँ र सबै विवेकी बनौँ ।