इटहरी, सुनसरी, २५ असार । सुशासनको पक्षमा आवाज बुलन्द गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश महामन्त्री लाल विक्रम थापा पार्टी भित्रकै बेथिति तथा सामुदायिक विद्यालयको सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा मुछिएका छन्।
इटहरी उपमहानगरपालिका–९ मा अवस्थित जनता माध्यमिक विद्यालयको करिब २ कठ्ठा जग्गा सनमुन प्लाजा नामक व्यवसायिक प्रतिष्ठानमार्फत लिजमा लिएर लामो समयसम्म भाडा नतिरेको तथ्य सार्वजनिक भएको छ।
सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार, सनमुन प्लाजा र विद्यालयबीच मिति २०७५ साल चैत २१ गते सम्झौता भई २०७६ साल साउन १ गतेदेखि लागू हुने गरी मासिक दश लाख सात हजार पाँच सय एक रुपैयाँ भाडा तिर्ने सहमति भएको थियो। सोही सम्झौताअनुसार प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्दै १५ वर्षसम्म लिज अवधि कायम गरिने उल्लेख छ।
तर, लेखा परीक्षण प्रतिवेदन अनुसार २०८१ सालको चैत्र मसान्तसम्म कूल भाडा रकम ८१ हजार ५९ लाख ६५० रुपैयाँ हुनुपर्नेमा विद्यालयले हालसम्म केवल सात लाख ४९ हजार ५०० रुपैयाँ मात्र असुल गर्न सकेको छ। बाँकी ७४, दश हजार १५० रुपैयाँ भाडा बक्यौता रहेको प्रस्ट भएको छ।
यसै आर्थिक अनियमितताका कारण रास्वपाले २०८० फागुन ७ गतेको पत्रमार्फत लाल विक्रम थापालाई कोशी प्रदेश महामन्त्री र सदस्य पदबाट निलम्बन गरेको थियो। थापाले छानबिन अवधिमा सबै बक्यौता तिर्ने मोैखिक प्रतिवद्धता दिएका थिए, जसका आधारमा पार्टीको केन्द्रीय अनुशासन आयोगले २०८१ असार २५ गतेबाट उनको निलम्बन फुकुवा गरेको थियो।
तर, पुनः सोही विवाद सतहमा आउँदा विद्यालय व्यवस्थापन समिति र स्थानीय बासिन्दाले कडा आलोचना गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
शिक्षा ऐन, २०२८ को दफा १६(१) अनुसार सामुदायिक विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिन्छ। यस्तै, शिक्षा नियमावली, नियम १६० अनुसार विद्यालयको नाममा रहेको जग्गा बिक्री वा धितो राख्न नपाइने प्रावधान छ।
तर यी कानुनी प्रावधानहरूलाई मिच्दै विद्यालयकै नाममा रहेको सार्वजनिक सम्पत्तिको व्यक्तिगत व्यापारिक फाइदाका लागि प्रयोग भइरहेको पाइएको छ। यस्तो कार्य न केवल ऐनविपरीत छ, तर सुशासनको नारालाई समेत गम्भीर प्रश्न उठाउने खालको छ।
स्थानीय तहदेखि संघीय संसदसम्म बेथिति विरुद्ध आवाज उठाउने रास्वपाका प्रदेश नेता स्वयं सार्वजनिक सम्पत्ति हडप्न संलग्न देखिनु दुःखद रहेको भन्दै सार्वजनिक तहबाट तत्काल अनुसन्धान र कारवाहीको माग उठ्न थालेको छ।