बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

वीरगन्जमा खानेपानीको हाहाकार

मंगलबार, असार २४ २०८२

वीरगन्ज (पर्सा), २४ असार । वीरगन्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगन्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सय भन्दा बढी छन् ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिए । “यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ,” उनले भने ।

वीरगन्ज महानगर–१३, श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गरे । “महानगर क्षेत्रमा खानेपानीको चर्को अभाव झेल्दै आइरहेका छौँ,” उनले भने, “विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।”

उनले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोखे । वीरगन्ज महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताउछन् । “पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,” उनले भने, “वडा कार्यालयकै पहलमा यही वर्ष दुई वटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर, पर्याप्त छैन ।”

वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोत साधन भएकाले जनताको आवश्यकता अनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गरे ।

वीरगन्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए ।

वीरगन्ज महानगरका अनुसार अहिले यहाँको वडा नं १, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगन्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ । “रु पाँचदेखि छ लाख लागतमा करिब ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ,” उनले भने, “वीरगन्जमा पानीको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले एसियाली विकास बैँकसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।” खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ ।

शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढङ्गले खानेपानी विस्तार गर्न नसकेको स्वीकारे । चालु आवमा मात्रै यहाँका करिब ६०० सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् । ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन् । वडा कार्यालयको सिफारिसमा संस्थानले छ हजार ३७० लिएर नयाँ धारा जडान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार