आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

संविधान संशोधनका लागि कांग्रेसले कार्यदल बनाउने

मंगलबार, असार २४ २०८२

काठमाडौं(जस)–सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुनः प्रतिबद्धतासहितको निर्णय गरेको छ ।
‘नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्दछ,’ महामन्त्री शर्माले निर्णय सुनाउँदै भने । त्यस्तै कांग्रेसले यसका लागि संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श लिने निर्णय पनि गरेको छ ।
शर्माले निर्णयबारे थप भने, ‘संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्दछ र नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ ।’ सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो । बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध छ।’ संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ ।
उक्त कार्यदलले गर्ने कार्यबारे निर्णयमा भनिएको छ, ‘कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।’ सात बुँदे सहमति बमोजिम बन्ने संयुक्त कार्यदलमा समेत रहेर यही कार्यदलले कांग्रेसका तर्फबाट काम गर्नेछ ।
पार्टीको १५ औं महाधिवेशन विधानअनुसार
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अप्ठ्यारो मान्छे भएको बताएका छन् । पार्टीको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको आसन्न १५औं महाधिवेशनको विषयमा भएको बहसमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन सकिन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि । मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो’, म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे हेर्नुस् । म त अप्ठ्यारो मान्छे हुँ ।’ महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ सालको असारमा गर्न र सरकारको नेतृत्व पनि हस्तान्तरण गर्न सभापतिलाई आग्रह गरेका थिए
देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताए् । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् । ‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’ देउवाले केही दिनअघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।
देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए । आजको बैठकमा देउवाले आफ्नो कार्यकाल ४ वर्षको रहेको, विधानले थप गर्न १ वर्ष र संविधानले थप ६ महिनाको समय दिएको उल्लेख गर्दै भने, ‘म के गर्छु, मेरो कुरा हो । मैले कसैलाई पनि भनेर गर्ने होइन । म अप्ठ्यारो मानिस हुँ नि, विचार गर्नुस् ।’ शर्माले केन्द्रीय समितिमा बोल्दै सभापतिले चितवनमा अवकाश लिन्छु भनेर बोलेको विषयमा बैठकमा प्रशंसा गरेका थिए । ‘चितवनमा बोल्दा अवकाश लिने बेला आयो, भन्नुभयो । यो प्रशंसनीय छ । पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो । तर नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ । विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि’, शर्माले भने, ‘तेस्रो पटक सभापति बन्न विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौं पटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ ।’ शर्माले सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोजेमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्ने समेत उल्लेख गरेका थिए छ ।
शर्माले सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको बारेमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको बताए । उनले कांग्रेस पहिला दल भए पनि कहिले तेस्रो त कहिले दोस्रो दलको पछि लागेर सरकार बनाउन परेको उनले बताए । उनले भने, ‘केही राम्रा कामहरू सरकारले गरेको छ । त्यसलाई स्वीकार गर्नुपर्छ । तर, सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’ कांग्रेसमा पछिल्लो समय सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि चुलिएको छ । मन्त्रीहरुले पर्फरमेन्स देखाउन नसकेको, डेलिभरी दिन नसकिएको, सुशासन कायम गर्न नसकिएको, संविधान संशोधनको एजेण्डा अगाडि बढाउन नसकिएको लगायतका विषयहरु कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार